असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, प्रधानमन्त्री बालेन शाहद्वारा सतर्क रहन आग्रह

७ असोज, काठमाडौ ।  मौसम विज्ञान विभागका अनुसार आगामी शुक्रबार असोज ९ गतेदेखि आइतबार असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना छ।

मौसम प्रणालीको प्रभावका कारण पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी क्षेत्र, जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्र बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिममा पर्न सक्ने जनाइएको छ।

सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबानका साथै सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रधानमन्त्री बालेन शाहले पानी परिरहेको समयमा तथा विशेषगरी रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र र नदी–खोलानजिक नजान तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गरिएको छ।

सरकारले मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत नागरिकलाई अनुरोध गरेको छ।

सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गर्दै प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिकलाई सुरक्षित र सचेत रहन अनुरोध गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, मौसम विभागले गरायो सतर्क

    Read more

    सामाजिक सुरक्षा भत्ता निकासाको माग गर्दै रास्वपा सुखीपुरद्वारा आन्दोलनको घोषणा

    Read more