९ असोज, महोत्तरी । महोत्तरीको जलेश्वरस्थित मदरसाबाट भागेका तीन किशोरीलाई भारतको लुधियानाबाट उद्धार गरी नेपाल ल्याइएको छ। उद्धारपछि तीनै किशोरीलाई परिवारको जिम्मा लगाइएको जनाइएको छ।
जलेश्वर नगरपालिका–२ स्थित मदरसा सैईदा फातिमा लिल्बेनातबाट गत भदौ २७ गते शनिबार बिहान अन्दाजी १५, १६ र १७ वर्षका तीन किशोरी भागेका थिए।
मदरसाबाट निस्किएका उनीहरू भारतको लुधियाना पुगेका थिए। परिवारबाट प्राप्त सूचनाका आधारमा आफन्त नातामा पर्ने एक व्यक्तिले किशोरीहरूलाई रेलमै फेला पारी लुधियानास्थित आफ्नै घरमा राखेका थिए।
किशोरीहरू लुधियानासम्म पुग्न आफन्तकै एक युवाले सहयोग गरेको परिवारले जानकारी पाएपछि ती युवासँग सोधपुछ गरिएको थियो। त्यस क्रममा उनले किशोरीहरू चढेको रेलको नाम, नम्बर र समयबारे जानकारी दिएपछि आफन्त इन्डिया फाउण्डेशन र पञ्जाब प्रहरीको टोलीले लुधियानास्थित आफन्तको घरबाट तीनै किशोरीको उद्धार गरेको हो।
उद्धार कार्यमा नेपाल तथा भारत प्रहरीसँगै आफन्त नेपाल र आफन्त इन्डिया फाउण्डेशनको समेत समन्वय रहेको जनाइएको छ। उद्धारपछि आवश्यक प्रक्रिया पूरा गरी किशोरीहरूलाई नेपाल ल्याइएको र परिवारसँग पुनर्मिलन गराइएको बताइएको छ।
















