सात प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गरिने

८ असोज , काठमाण्डौ। सरकारले खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ।

खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ निर्माणसम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. रवीन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।

समझदारीपछि मन्त्री पोखरेलले सातै प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने जानकारी दिनुभयो। सरकारले ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित तल्लो तहदेखि नै खेलकुद पूर्वाधारमा लगानी गर्न लागेको उहाँले बताउनुभयो।

पहिलो चरणमा क्रिकेट रंगशाला, फुटबल रंगशाला र कभर्ड हललाई प्रमुख आधार बनाएर अधिकांश खेल सञ्चालन गर्न सकिने गरी पूर्वाधार निर्माण गर्ने योजना रहेको मन्त्री पोखरेलले बताउनुभयो।

विद्यालय तहदेखि नै खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले पाठ्यक्रममा समेत खेलकुदलाई जोड्ने गरी काम भइरहेको उहाँको भनाइ छ। पाठ्यक्रम पुनर्निर्माणका क्रममा खेलाडीहरूलाई समेत कार्यदलमा सहभागी गराइएको मन्त्री पोखरेलले जानकारी दिनुभयो।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले आधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित भएको साझेदारीले नेपालको खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सरकारले चालु आर्थिक वर्षको बजेटमा नयाँ खेलकुद पूर्वाधार निर्माणसँगै विद्यमान संरचनाको मर्मत, सम्भार, पुनर्निर्माण, स्तरोन्नति तथा सुदृढीकरणलाई प्राथमिकता दिएको छ।

बजेटअनुसार आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला स्तरोन्नति गर्ने तथा प्रमुख आठ शहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम आगामी तीन वर्षभित्र निर्माण गर्ने योजना छ। मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तय गर्ने व्यवस्था पनि बजेटमा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    भारी वर्षाका कारण कांग्रेसको क्षेत्रीय अधिवेशन असोज १३ गतेभित्र सम्पन्न गर्न निर्देशन

    Read more

    भारी वर्षाको जोखिमका कारण जलेश्वरका विद्यालय दुई दिन बन्द

    Read more