कांग्रेस महाधिवेशनको तयारीमा धनुषामा देउवा पक्ष सक्रिय, संयोजकमा कोमलकान्त झा

९ असोज , जनकपुरधाम।  नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषामा पूर्वसभापति शेरबहादुर देउवा पक्षले संगठनात्मक गतिविधिलाई तीव्र बनाएको छ। महाधिवेशनसम्बन्धी तयारी तथा समन्वयका लागि कोमल कान्त झालाई जिम्मेवारी दिइएको जनाइएको छ।

धनुषामा महाधिवेशनको तयारी तथा समन्वयका लागि झालाई जिम्मेवारी दिइएको हो। यसै क्रममा जिल्लाभरका देउवा पक्षीय नेता तथा कार्यकर्ताको बैठक सम्पन्न भएको जनाइएको छ। बैठकको अध्यक्षता नेपाली कांग्रेस धनुषाका जिल्ला उपसभापति लक्ष्मीनारायण यादवले गरेका थिए।

बैठकमा पूर्वमन्त्री स्मृतिनारायण चौधरी, पूर्वमन्त्री प्रमिला दास, पूर्व जिल्ला सभापति महेश्वर गिरी, जिल्ला सचिव कन्हैया कर्ण, वरिष्ठ नेता गणेश तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशका अध्यक्ष रामभरत साह, जिल्ला समन्वय समिति धनुषाकी उपसभापति संगीता ठाकुर, मुस्लिम संघ धनुषाका अध्यक्ष मो. इब्राहिम, क्षेत्रीय सभापति रामचन्द्र पजियारलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको बताइएको छ।

बैठकमा नेता सुरेश कोइराला, तरुण दल धनुषाका जिल्ला अध्यक्ष सञ्जय लाभ कर्ण, क्षेत्रीय सचिव हरि राउत, कमल कान्त झालगायत विभिन्न तहका पदाधिकारी, नेता, युवा तथा महिला प्रतिनिधिको समेत सहभागिता रहेको थियो।

बैठकमा कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै वडा तहदेखि जिल्ला तहसम्म संगठनात्मक तयारी, नेता–कार्यकर्ताबीच समन्वय तथा महाधिवेशनका लागि आवश्यक तयारीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।

देउवा पक्षले प्रस्ताव गरेको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २२ गते क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ८ गते प्रदेश अधिवेशन गर्ने तयारी गरिएको उल्लेख छ। त्यसपछि मंसिर २१, २२ र २३ गते १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी रहेको जनाइएको छ।

धनुषामा उक्त कार्यतालिकालाई आधार बनाएर महाधिवेशनको तयारी अघि बढाउन जिल्लास्तरीय नेताहरूबीच छलफल तथा समन्वयलाई निरन्तरता दिने बताइएको छ।

  • सम्बन्धित समाचारहरु

    हुंकार मधेस’ले संघीयता सबलीकरणदेखि आर्थिक समृद्धिसम्मका एजेन्डा सार्वजनिक

    Read more

    मदरसाबाट भागेका तीन किशोरी भारतको लुधियानाबाट उद्धार, घर फर्किए

    Read more