भदौ २५, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भावी सरकार गठन प्रक्रिया लगायतका विषयमा छलफल अघि बढाउने तयारी भइरहेकै बेला जेनजी आन्दोलनका प्रतिनिधिहरूले मंगलबार जंगी अड्डामा प्रधानसेनापति अशोक सिग्देलसँग भेट गरेका छन्।
भेटका क्रममा प्रधानसेनापति सिग्देलले जेनजी आन्दोलनमा संलग्न समूहहरू छुट्टाछुट्टै नाम टिपाउँदै प्रतिनिधित्व गर्न खोजेकाले स्पष्टता र एकता आवश्यक रहेको उल्लेख गर्दै सबैको प्रतिनिधित्व हुनेगरी साझा व्यक्ति बनाएर आउन आग्रह गरेका हुन्।
उनको आग्रहपछि जेनजी आन्दोलनमा संलग्न विभिन्न समूहका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन्। साझा प्रतिनिधि चयनपछि मात्र आगामी छलफल राष्ट्रपति निवासमा अघि बढ्ने जनाइएको छ।

















