भदौ १५, जनकपुरधाम। मधेशी स्वास्थ्यकर्मी फोरम, नेपाल मधेश प्रदेशले आफ्नो दोस्रो अधिवेशन सम्पन्न गर्दै ६ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। शनिबारदेखि दुई दिनसम्म जनकपुरधाममा चलेको अधिवेशनले मधेश प्रदेशका सम्पूर्ण स्वास्थ्यकर्मीको अधिकार, हित र सम्मानको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
घोषणापत्रमा प्रत्येक नागरिकलाई सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन राज्यसँग सहकार्य गर्ने, स्वास्थ्यकर्मीहरुको पेशागत मर्यादा कायम राख्ने, सीप अभिवृद्धि गर्ने तालिम, क्षमता विकास र अध्ययन कार्यक्रम सञ्चालन गर्ने जस्ता विषयहरू समावेश गरिएको छ। साथै, मधेश प्रदेश सरकारद्वारा जारी स्थानीय सेवा गठन तथा सञ्चालन ऐन–२०८१ मा देखिएका त्रुटी सुधार गर्न प्रदेश सरकारसँग निरन्तर संवाद र दबाब सिर्जना गर्ने अठोट पनि गरिएको छ।
यस्तै, समायोजनपछि सम्पूर्ण तह–तप्काका स्वास्थ्यकर्मीलाई एक तह स्तर वृद्धिको पहल गर्ने, समाजमा स्वास्थ्य चेतना जगाउने, रोग रोकथाममा जोड दिने र आवश्यक पर्दा जनतासँग हातेमालो गर्दै सहयोग गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ। साथै, सम्पूर्ण मधेशी स्वास्थ्यकर्मीबीच एकता, सहकार्य र साझा पहिचान निर्माण गर्दै संगठनलाई प्रदेशका सबै स्थानीय तहसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।
अधिवेशनले बिनोद यादवको अध्यक्षतामा १७ सदस्यीय मधेश प्रदेश कार्यसमिति गठन गरेको छ। उपाध्यक्षमा संजिव कुमार यादव (खुला), चुनचुन प्रसाद यादव (आयुर्वेद) र महिला उपाध्यक्षमा बबिता मण्डल सर्वसम्मत चयन भएका छन्।
त्यस्तै, मुखय सचिवमा भागिरथ चौधरी, सचिवद्वयमा नरेश कुमार ठाकुर र शशीकान्त प्रसाद श्रीवास्तव, कोषाध्यक्षमा रंधिरकुमार यादव तथा सह–कोषाध्यक्षमा उज्जवल यादव चयन भएका छन्। सदस्यतर्फ धनुषाबाट रामकुमार यादव, सर्लाहीबाट रत्नेश्वर साह, महोत्तरीबाट रामकुमार यादव, महोत्तरीबाट अभिषेक नारायण यादव र सर्लाहीबाट राजेशकुमार साह निर्वाचित भएका छन्।

















