भदौ १५, बिरगंज । गृहमन्त्री रमेश लेखकले सीमाक्षेत्रमा भइरहेको अवैध चोरीपैठारी र राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। आइतबार पर्सा जिल्ला प्रशासन कार्यालयमा बसेको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै उनले एकअर्कामाथि दोषारोपण गर्ने प्रवृत्ति त्यागेर भन्सार, प्रशासन, प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायले मिलेर काम गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार सरकार राजस्व चुहावट नियन्त्रणमा गम्भीर रूपमा लागेको छ तर परिणाम देखिनका लागि सबै निकाय एउटै लक्ष्यसहित अघि बढ्न जरुरी छ। सीमाक्षेत्रमा हुने चोरीतस्करी, गैरकानुनी निकासी र आपराधिक गतिविधि नियन्त्रण गर्न उनले स्थानीय प्रशासनलाई ठोस पहल गर्न आग्रह गरे।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष राजस्व सङ्कलन उत्साहजनक भएको जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन हुने अपेक्षा गरिएको छ।
यस्तै, पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले तस्करीका नयाँ तरिका देखापरेको बताए। उनका अनुसार केही भारतीय नागरिकले कम आय भएका नेपाली नागरिकको नागरिकता दुरुपयोग गरी फर्म दर्ता गरेर तस्करी गर्ने प्रवृत्ति बढेको छ। यस्तो गतिविधि रोक्न सुरक्षा निकायले निगरानी र कारबाही कडाइका साथ अघि बढाउनुपर्ने उनले उल्लेख गरे।
त्यसैगरी, पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लाको शान्ति–सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि स्थानीय प्रशासनले अन्य सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

















