श्रावण २१, जनकपुरधाम। धनुषाको जनकपुरधामस्थित ज्ञानदेव टेक्निकल एकेडेमीले सूचना प्रविधि क्षेत्रमा महत्वपूर्ण कदम चाल्दै यस वर्षदेखि चारवर्षे बी.एस्सी. सीएसआइटी (B.Sc CSIT) को विशेष कक्षा सञ्चालनमा ल्याउने घोषणा गरेको छ। सीटीईभीटी अन्तर्गत डिप्लोमा कम्प्युटर इन्जिनियरिङ अध्यापनमा लामो अनुभव हासिल गरिसकेको एकेडेमीले अब राजर्षि विश्वविद्यालयसँगको सम्बन्धनमा यो नयाँ कार्यक्रम प्रारम्भ गर्न लागेको हो।
एकेडेमीका सञ्चालकले जानकारी दिएअनुसार, बी.एस्सी. सीएसआइटी को सम्पूर्ण अध्ययन अवधिका लागि शुल्क ३ लाख ७५ हजार रुपैयाँ मात्र तोकिएको छ। साथै, अन्य शहर तथा जिल्लाबाट अध्ययन गर्न आउने विद्यार्थीहरूका लागि निःशुल्क आवासीय छात्रावासको व्यवस्था गरिएको छ, जसले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई समेत शिक्षाको पहुँचमा ल्याउने विश्वास लिएको छ।
विश्वव्यापीकरणको युगसँगै सूचना प्रविधिको महत्व झनै बढ्दै गएको वर्तमान सन्दर्भमा, यस कार्यक्रमले स्थानीय युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्राविधिक ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ। कुल ४० सिट क्षमताको यो कार्यक्रमले दक्ष, सिर्जनशील र आत्मनिर्भर जनशक्ति उत्पादनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
जनकपुरधाममा पहिलोपटक यति व्यवस्थित र सुलभ शुल्कमा सुरू भएको बी.एस्सी. सीएसआइटी कार्यक्रमले प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूका लागि अवसरको ढोका खोलिदिएको छ।

















