१० असोज , जनकपुरधाम। — नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाको १५औँ नगर अधिवेशन जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी छ।
संस्थापन पक्षले तय गरेको कार्यतालिकाअनुसार शनिबार अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको हो। नगर सभापति मनोज साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रामसरोज यादवले कांग्रेस केन्द्रीय सभापति गगनकुमार थापाको ‘स्प्रिट’अनुसार अधिवेशनलाई लोकतान्त्रिक र सहमतिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गरे।
उद्घाटन सत्रका क्रममा कांग्रेस जनकपुरका अग्रज तथा पुराना नेताहरूलाई सम्मानसमेत गरिएको थियो।
उद्घाटन कार्यक्रम सकिएसँगै ५१ सदस्यीय नगर कार्यसमितिको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। नगर सभापति मनोज साहका अनुसार नेतृत्व चयनका लागि पहिलो प्राथमिकता सर्वसम्मतिलाई दिइएको छ।
सहमति जुट्न नसके आजै निर्वाचन प्रक्रिया सुरु गरिने र लोकतान्त्रिक विधिबाट भोलिसम्म नयाँ नेतृत्व चयन गरिने आयोजकले जनाएको छ।
नगर सभापति पदका लागि करिब एक दर्जन नेताले आकांक्षा देखाएका छन्। वर्तमान नगर सचिव लालबाबु मिश्र, परमेश्वर साह, रामप्रसाद साहलगायतका नेताहरू सभापति पदका सम्भावित उम्मेदवारका रूपमा देखिएका छन्। आगामी नेतृत्वका लागि सहमति जुट्छ वा निर्वाचनमा जाने अवस्था आउँछ भन्ने विषयमा कांग्रेस कार्यकर्ताको ध्यान केन्द्रित भएको छ।

















