२५ वटै वडा बलियो बनाउने प्रतिबद्धतासहित लाल बाबू मिश्रको उम्मेदवारी

१० असोज ,जनकपुरधाम । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनकपुरधाम उपमहानगरपालिका नगर सभापति पदका लागि लाल बाबू मिश्रले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

मिश्रले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित, अनुशासित, समावेशी र जनमुखी बनाउने उद्देश्यसहित उम्मेदवारी प्रस्तुत गरेको बताएका छन्। नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट सर्वसम्मतरूपमा नगर सचिवमा निर्वाचित भई जिम्मेवारी निर्वाह गर्दै आएका मिश्रले विगत पाँच वर्षमा जनकपुरधामका २५ वटै वडा कार्यसमितिसँग समन्वय र सहकार्य गर्दै संगठन सुदृढीकरणमा भूमिका खेलेको दाबी गरेका छन्।

स्थानीय, प्रदेश तथा संघीय निर्वाचनका क्रममा पार्टी संगठन परिचालन, विभिन्न तहका समितिबीच समन्वय, क्रियाशील सदस्यता वितरण तथा नवीकरण, अभिलेख व्यवस्थापन र नागरिकका समस्या समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य गरेको उनले बताएका छन्।

नगर सभापतिमा निर्वाचित भए २५ वटै वडा कार्यसमितिलाई सक्रिय, सक्षम र अधिकारसम्पन्न बनाउने मिश्रको प्रतिबद्धता छ। उनले वडा तथा नगर तहका नेता–कार्यकर्तासँग नियमित संवाद, संगठन सञ्चालनमा पारदर्शिता र जवाफदेहिता तथा सामूहिक निर्णय प्रक्रियालाई प्राथमिकता दिने बताएका छन्।

त्यसैगरी युवाको नेतृत्व विकास, महिला, दलित, आदिवासी जनजाति, मधेसी, अल्पसंख्यक तथा सबै समुदायको अर्थपूर्ण सहभागिता, सदस्यता व्यवस्थापन, राजनीतिक तथा संगठनात्मक प्रशिक्षण, जनसम्पर्क विस्तार र नागरिकका समस्यामा पार्टीको प्रभावकारी भूमिका स्थापित गर्ने प्रतिबद्धता मिश्रले अघि सारेका छन्।

आगामी निर्वाचनलाई लक्षित गर्दै वडा तहदेखि संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा सामाजिक सञ्जाल र आधुनिक सञ्चार माध्यममार्फत पार्टीका नीति, कार्यक्रम र गतिविधिलाई जनतासमक्ष पुर्‍याउने योजना पनि उनले सार्वजनिक गरेका छन्।

मिश्रले आफ्नो उम्मेदवारी कुनै व्यक्ति विशेषको विरोध वा प्रतिस्पर्धाका लागि मात्र नभई काँग्रेसको संगठनलाई बलियो बनाउने उद्देश्यले भएको बताएका छन्।

उनले “वडा बलियो, संगठन बलियो; कार्यकर्ता बलियो, काँग्रेस बलियो” भन्ने भावनाका साथ जनकपुरधाम उपमहानगरपालिकामा पार्टी संगठनलाई नयाँ ऊर्जा र गतिशीलताका साथ अघि बढाउने संकल्प व्यक्त गरेका छन्।

मिश्रले नगर सभापतिको उम्मेदवारीसँगै १२ बुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    हुंकार मधेस’ले संघीयता सबलीकरणदेखि आर्थिक समृद्धिसम्मका एजेन्डा सार्वजनिक

    Read more

    कांग्रेस महाधिवेशनको तयारीमा धनुषामा देउवा पक्ष सक्रिय, संयोजकमा कोमलकान्त झा

    Read more