हस्तकला क्षेत्रको विकासमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री वालेन्द्र शाह

६ साउन, काठमाडौ ।  — प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक नीति तथा कार्यक्रम ल्याइने बताउनुभयो। उहाँले हस्तकला व्यवसायमार्फत रोजगारी सिर्जना, परम्परागत सीपको पुस्तान्तरण तथा नेपाली कला–संस्कृतिको संरक्षणमा सरकारले विशेष ध्यान दिने प्रतिबद्धता जनाउनुभयो।
छलफलका क्रममा महासंघले सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा हस्तकला विकास बोर्ड गठन, राष्ट्रिय हस्तकला दिवस मनाउने, हस्तकला सामग्री निर्यातमा बिजक मूल्यांकन अनिवार्य गर्ने, काठमाडौँ उपत्यकामा हस्तकला ग्राम स्थापना तथा सातै प्रदेशमा सीप प्रशिक्षण केन्द्र सञ्चालन गर्नुपर्ने लगायतका माग राखेको थियो।
महासंघका मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री शाहले हस्तकला विकास बोर्ड गठन, राष्ट्रियस्तरमा हस्तकला दिवस मनाउने, काठमाडौँ उपत्यकामा हस्तकला ग्राम स्थापना तथा सातै प्रदेशमा सीप प्रशिक्षण केन्द्र सञ्चालन गर्न सरकार तयार रहेको बताउनुभयो। साथै हस्तकला सामग्रीको निर्यात प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधारमा पनि सरकार सकारात्मक रहेको उहाँको भनाइ थियो।
प्रधानमन्त्री शाहले हस्तकला क्षेत्र नेपाली कला, संस्कृति र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रको प्रवर्द्धनमार्फत स्वदेशमै रोजगारी सिर्जना र निर्यात वृद्धि गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

  • सम्बन्धित समाचारहरु

    प्रचण्डद्वारा सुनसरी गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाहीको माग

    Read more

    देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग, संयम अपनाउन आग्रह

    Read more