सामाजिक सञ्जालको दुरुपयोग र साम्प्रदायिक गतिविधिप्रति धनुषा प्रशासनको कडा चेतावनी

पुस २०, जनकपुर। पछिल्लो समय धनुषा जिल्लाका विभिन्न स्थानमा सामाजिक सञ्जालको दुरुपयोग गर्दै निश्चित समुदाय तथा धर्म लक्षित अवैधानिक सामग्री प्रसारण हुने क्रम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रशासनका अनुसार यस्ता गतिविधिले आपसी सामाजिक सद्भावमा खलल पुर्‍याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने तथा विभिन्न धार्मिक समुदायलाई लक्षित वादविवाद सिर्जना गर्ने जोखिम बढाएको छ। साथै धार्मिक स्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक गतिविधि तथा सामाजिक द्वेष फैलाउने कार्यप्रति पनि प्रशासन सतर्क रहेको जनाइएको छ।
स्थानीय प्रशासनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकताको विरुद्ध हुने सामाजिक सञ्जालको दुरुपयोग तथा अन्य गैरकानूनी गतिविधिमा संलग्न जो–कोहीलाई प्रचलित कानून बमोजिम कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।
प्रशासनले जिल्लामा शान्ति सुरक्षा, अमनचयन तथा जनधनको रक्षा गर्न सबै पक्षको सहयोग, समझदारी र एकता अपरिहार्य रहेको उल्लेख गरेको छ। पछिल्ला घटनाक्रमलाई दृष्टिगत गर्दै धनुषा जिल्लावासी सम्पूर्ण नागरिक, विभिन्न धार्मिक तथा अन्य संघसंस्था, राजनीतिक दल, सञ्चारमाध्यम र सरोकारवाला सबैलाई आपसी सद्भाव र सहिष्णुता कायम राख्न आग्रह गरिएको छ।
संयमित, मर्यादित र शान्तिपूर्ण वातावरण निर्माणका लागि सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै प्रशासनले भयरहित समाज निर्माणमा सहयोग गर्न हार्दिक अपिल गरेको छ।

  • सम्बन्धित समाचारहरु

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

    Read more