पुस २०, जनकपुरधाम। सामाजिक सञ्जाल TikTok मार्फत धार्मिक अफवाह फैलाउने तथा मस्जिदमा तोडफोड र धार्मिक ग्रन्थ जलाउने घटनामा संलग्न तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार TikTok मार्फत अफवाह फैलाउँदै विभिन्न किसिमका अपशब्द प्रयोग गरी समुदाय लक्षित गालीगलौज गरिएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा धनुषा जिल्लाको कमला नगरपालिका–६ बस्ने १९ वर्षीय हैदर अंसारी र १९ वर्षीय अमानत अंसारीलाई नियन्त्रणमा लिइएको हो। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १५६ बमोजिम धर्म सम्बन्धी कसूरमा सम्मानित जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, TikTok मा पोष्ट गरिएको भिडियोको विषयलाई लिएर मिति २०८२/०९/१९ गते दिउँसो करिब २ बजे कमला नगरपालिका–६ सखुवा टोलस्थित मस्जिदमा तोडफोड गर्ने, त्यहाँ रहेका कागजपत्र निकाल्ने तथा धार्मिक ग्रन्थ जलाउने घटनामा संलग्न रहेको आरोपमा २५ वर्षीय कपिल भन्ने राम प्रताप साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १५५ बमोजिम धर्म सम्बन्धी कसूरमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ। उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले TikTok, Facebook, WhatsApp लगायतका सामाजिक सञ्जालमार्फत कसैको धार्मिक आस्थामा खलल पुर्याउने खालका स्टाटस, अडियो वा भिडियो पोष्ट गर्ने, लाइक, शेयर तथा कमेन्ट गर्ने कार्यमा संलग्न जो–कोहीलाई प्रचलित कानून अनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।
साथै धनुषा जिल्लामा सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै जिम्मेवार राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी, धार्मिक अगुवा, अधिकारकर्मी, नागरिक समाज तथा सर्वसाधारणलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले हार्दिक अनुरोध गरेको छ।

















