पुस २०, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले सामाजिक सद्भावमा खलल पुर्याउने, धार्मिक तथा सांस्कृतिक द्वेष फैलाउने र राष्ट्रिय एकतामा आँच पुर्याउने गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कारबाही गरिने स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको अपिलमा Facebook, TikTok, Instagram लगायत सामाजिक सञ्जालमार्फत झुट्टा अफवाह फैलाउने, कुनै धर्म वा समुदायको सामाजिक मान–मर्यादा मर्दन गर्ने तथा आपसी सद्भाव विथोल्ने गतिविधिमा संलग्न व्यक्तिहरूको सामाजिक सञ्जाल खाताको गतिविधि सूक्ष्म रूपमा निगरानी भइरहेको जानकारी गराइएको छ।
प्रशासनले यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिँदै प्रचलित कानुनअनुसार कडाइका साथ कारबाही गरिने जनाएको छ। अपिलमा मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार हुने सजायको समेत स्पष्ट उल्लेख गरिएको छ।
मुलुकी अपराध संहिताअन्तर्गत धर्मसम्बन्धी कसूरमा धार्मिक स्थल, पवित्र स्थान, वस्तु, चिहान वा मशानघाटमा क्षति पुर्याएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको प्रशासनले स्मरण गराएको छ। त्यस्तै, लेख, बोली, चिन्ह वा अन्य कुनै माध्यमबाट धार्मिक भावनामा आघात पुर्याएमा दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको उल्लेख गरिएको छ।
यस्तै, विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कम्प्युटर, इन्टरनेट वा सामाजिक सञ्जालमार्फत गैरकानुनी, अनैतिक, घृणा वा द्वेष फैलाउने, समुदायबीचको सुमधुर सम्बन्धमा खलल पुर्याउने तथा अमर्यादित सामग्री प्रकाशन वा प्रदर्शन गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्साले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति–सुरक्षा कायम राख्न सबै नागरिकलाई जिम्मेवार व्यवहार गर्न तथा कानुनको पालना गर्न आग्रह गरेको छ।

















