सत्ताको अहंकारबाट जोगिन रास्वपा सांसदलाई रवि लामिछानेको कडा सन्देश

४ चैत, काठमाडौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरूलाई सत्ता प्राप्तिपछि आउने अहंकार र भ्रमबाट बच्न कडा चेतावनी दिइएको छ।
बुधबार ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति लामिछानेले शक्ति हात परेपछि देखिने ‘अन्धोपन’ खतरनाक हुने बताएका हुन्। उनले जनताको चेतना निकै माथि पुगिसकेको उल्लेख गर्दै भने, “शक्ति प्राप्त गरेपछि आँखामा आउने पट्टी खोल्न सक्नुपर्छ, नत्र जनताले अब ३६ दिन पनि कुर्दैनन्।”
उनले विगतमा परम्परागत राजनीतिक दलहरूले जनताको धैर्यको फाइदा उठाउँदै लामो समय शासन गरेको स्मरण गराउँदै अहिलेको अवस्थामा त्यस्तो सम्भावना समाप्त भइसकेको दाबी गरे। “जनताले अब छिटो मूल्यांकन गर्छन्, गल्ती भयो भने तुरुन्त अस्वीकार गर्छन्,” उनले स्पष्ट पारे।
लामिछानेले अघिल्लो निर्वाचनमा रास्वपालाई पूर्ण बहुमत दिन सक्ने अवस्था हुँदाहुँदै पनि जनताले सीमित सिट मात्र दिएको उल्लेख गरे। उनका अनुसार जनताले नयाँ शक्तिलाई ‘नमात्तिन’ र पुराना दललाई सुधारको अवसर दिन सन्तुलित निर्णय गरेका थिए। “हामीलाई २०–२१ सिट मात्र दिनु पनि जनताको विवेकपूर्ण सन्देश हो,” उनले भने।
त्यस्तै, दुई तिहाइ बहुमत प्राप्त सरकारले जनताको अपेक्षा र विवेकको सम्मान गर्न नसकेको आरोप समेत उनले लगाए। उनले आफ्ना सांसदहरूलाई जनविश्वास जोगाउन इमानदारी, जिम्मेवारी र अनुशासनका साथ काम गर्न निर्देशन दिए।
लामिछानेको यो अभिव्यक्तिलाई नयाँ राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको बढ्दो अपेक्षाको संकेतका रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more