२८ चैत, काठमाडौ । नेकपा का संयोजक पुष्प कमल दहाल प्रचण्ड ले संविधानमाथि कुनै प्रकारको छेडखानी वा जनअधिकारमा कटौती गर्ने प्रयास भए सडक र सदन दुवैबाट कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
शनिबार काठमाडौंको पेरिसडाँडामा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रममा बोल्दै उनले सरकार संविधानको मर्म र सीमाभित्र रहेर अघि बढ्नुपर्ने बताएका हुन्। उनले सरकारका सकारात्मक र जनहितका कामलाई समर्थन गरिने तर संविधान र जनअधिकारमा असर पर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।
प्रचण्डले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त जनअधिकारमा कुनै हस्तक्षेप हुन नहुनेमा जोड दिए। उनले विद्यार्थी, कर्मचारी तथा विभिन्न जनवर्गका अधिकार कटौती गर्ने वा प्रश्न उठाउने प्रयासप्रति आफ्नो पार्टी सतर्क रहेको बताए।
संविधान संशोधनबारे बोल्दै उनले आफूहरू संशोधनको विरोधी नभएको स्पष्ट पार्दै त्यसलाई जनताको अधिकार थप्ने दिशामा केन्द्रित गर्नुपर्ने बताए। उनका अनुसार संशोधन महिलाका अधिकार विस्तार, जनअधिकार सुदृढीकरण र संघीयता मजबुत बनाउने उद्देश्यका साथ हुनुपर्छ, अधिकार घटाउनेतर्फ होइन।



















