२८ चैत , काठमाडौ । पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच शान्ति वार्ता सुरु भएको खबर सार्वजनिक भएको छ। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो प्रतिक्रिया दिँदै दुई देशबीच वार्ता सुरु भइसकेको र छिट्टै परिस्थिति परिवर्तन हुन सक्ने बताएका छन्।
एक अन्तर्वार्तामा ट्रम्पले इरानलाई “असफल देश” को संज्ञा दिए पनि वार्ता सकारात्मक दिशामा अघि बढेमा अवस्था सुधार हुन सक्ने संकेत गरेका छन्। उनले विश्व तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने Strait of Hormuz छिट्टै पुनः सञ्चालनमा आउन सक्ने विश्वास व्यक्त गरेका छन्।
रिपोर्टअनुसार हाल अमेरिका र इरानबीच प्रत्यक्ष संवाद भइरहेको छैन। पाकिस्तानमार्फत अप्रत्यक्ष रूपमा वार्ता अघि बढाइएको छ। ट्रम्पले दुवै देशबीच संवाद जारी रहेको र छिट्टै इरान यस प्रक्रियामा कति गम्भीर छ भन्ने स्पष्ट हुने बताएका छन्।
उनले विश्वले अब तेल आपूर्तिका वैकल्पिक स्रोतहरू खोज्न थालेको पनि संकेत गरेका छन्। ट्रम्पले चेतावनीपूर्ण शैलीमा भने, “यदि वार्ता सफल भएन भने अमेरिका ‘रिसेट’ गर्न तयार छ।” उनको यस भनाइलाई वार्ता असफल भए कडा कदम चाल्न सकिने सन्देशका रूपमा हेरिएको छ।



















