श्रममन्त्रीको सवारी चालक मुस्तकिम अपहरण आरोपमा पक्राउ

२९ वैशाख, सप्तरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्ति दिएका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परेका छन् ।

सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ घर भई हाल राजविराज नगरपालिका वडा नम्बर ३ बस्ने २७ वर्षीय मिँयालाई प्रहरीले सोमबार अपहरण, शरीर बन्धक र अपमानजनक व्यवहार आरोपमा पक्राउ गरेको हो । उनलाई मन्त्री यादवले हलुका सवारी चालक पदमा २०८२ चैत २७ गते नियुक्त गरेका थिए ।

नियुक्तिपत्रमा उनको नाम ‘मो. मुस्तकिम’ लेखिएको छ । प्रहरीको विज्ञप्तिमा भने उनको नाम ‘मुस्तकिम मिँया’ उल्लेख छ । तर ‘मो. मुस्तकिम’ र ‘मुस्तकिम मिँया’ एकै व्यक्ति रहेको स्रोतले बतायो ।

सप्तरी प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले मिँयामाथि सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।

मिँयाबाट पीडित भएको भन्दै प्रहरीमा दिइएको एक किटानी जाहेरीमा एकान्त ठाउँमा बन्धक बनाई, डरत्रास देखाई, कुटपिट गरेको र शरीरको कपडा खोली नांगो बनाएर भिडियो खिचेको आरोप छ ।

सो भिडियो समाजिक सन्जाल फेसबुकमा भाइरल भएपछि मुस्तकिम मिँयाको आलोचना सुरू भएको थियो भने राजनीतिक संरक्षणमा जोगाउन खोजिएको आरोप प्रहरी माथि लागेको थियो ।

खोजतलासको क्रममा राजविराज नगरपालिका वडा नम्बर ८ बाट मिँयालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मिँयाले आफू जेनजी आन्दोलनको अगुवा भएको दावी गर्दै जिल्लामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएका थिए ।

  • सम्बन्धित समाचारहरु

    सिमा नाकाबाट ल्याउन पाउने रकम १०० लाई बढाएर ५०० पुरयाईयो

    Read more

    वन जोगाउने साझा संकल्प सगैं वन पैदावारको अवैध चोरी–तस्करी नियन्त्रणबारे सरोकारवाला बिच वृहत अन्तरक्रिया सम्पन्न

    Read more