अब विद्यालयमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा

२९ बैशाख , काठमाडौं ।— सरकारले शैक्षिक सत्र २०८३ देखि देशभरका शैक्षिक संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णयअनुसार अब विद्यालयमा शनिबार र आइतबार बिदा हुने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८३ वैशाख २८ गते निर्णय गर्दै शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह तथा सबै विद्यालयलाई उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले पठनपाठनको समय व्यवस्थापन गर्दै स्वीकृत पाठ्यक्रमले तोकेको कार्यघण्टा पूरा गर्न विभिन्न व्यवस्था समेत गरेको छ । निर्णयअनुसार प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गरिनेछ भने सोमबारदेखि शुक्रबारसम्म पूर्ण समय पठनपाठन तथा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ ।
यस्तै, हाल कायम रहेको ४५ दिनको हिउँदे तथा बर्से बिदालाई घटाएर ३० दिनमा सीमित गरिएको छ । पहिलो र दोस्रो त्रैमासिक आन्तरिक मूल्याङ्कन पठनपाठनमा असर नपर्ने गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ भने अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने जनाइएको छ ।
मन्त्रालयले विद्यालय शिक्षालाई व्यवहारिक र परियोजनामूलक बनाउन पनि जोड दिएको छ । शुक्रबारका दिन समुदाय, परिवार, सूचना प्रविधि तथा बहुविषयमा आधारित परियोजना र प्रयोगात्मक कार्य विद्यार्थीलाई दिने तथा आवश्यकताअनुसार प्रस्तुति गर्ने अवसर उपलब्ध गराउन निर्देशन दिइएको छ ।
परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा उपलब्ध ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ बाट सहयोग लिन सकिने मन्त्रालयले जनाएको छ । स्थानीय तह, विद्यालय र शिक्षकले स्वीकृत पाठ्यक्रमअनुसार परियोजना निर्माण गरी कार्यान्वयन गर्न सक्ने व्यवस्था गरिएको छ ।

  • सम्बन्धित समाचारहरु

    रवि लामिछानेसँग मोदीको भेट, नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

    Read more

    सिमा नाकाबाट ल्याउन पाउने रकम १०० लाई बढाएर ५०० पुरयाईयो

    Read more