२९ बैशाख , सिरहा। — सिरहामा दुई दिनदेखि हराइरहेका तीन वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । बालकको शव दुवै हात काटिएको अवस्थामा भेटिएपछि क्षेत्रमा त्रास फैलिएको छ ।
लक्ष्मीपुर पतारी गाउँपालिका–३ लबटोली निवासी भोगेन्द्रप्रसाद यादवका छोरा अभियान्स यादव शनिबार दिउँसोदेखि हराइरहेका थिए । परिवारले खोजी गरेपछि प्रहरीमा जानकारी गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार खोजतलासका क्रममा बरियारपट्टी गाउँपालिका–४ कदमपुर पोखरीदेखि करिब पाँच सय मिटर दक्षिणतर्फ रहेको स्थानीय देवप्रसाद यादवको पोखरी किनारमा बालकको शव फेला परेको हो । शव उत्तानो परेको अवस्थामा थियो भने दुवै हात काटिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।
घटनाको प्रकृति गम्भीर रहेकाले प्रहरीले सबै पक्षबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।
















