राष्ट्रिय परिचयपत्र अब स्वयं डाउनलोड गर्न सकिने

५ अषाढ, काठमाडौ ।  – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै अनलाइनमार्फत डाउनलोड गर्न सक्ने सेवा सुरु गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बिहीबारदेखि परीक्षणका रूपमा उक्त सेवा सञ्चालनमा ल्याएको हो।

विभागका अनुसार राष्ट्रिय परिचयपत्रसम्बन्धी वेबसाइटमार्फत नागरिकले आफ्नो फोटो तथा अनलाइन प्रमाणीकरण (भेरिफिकेसन) क्यूआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड डाउनलोड गर्न सक्नेछन्।

यो व्यवस्था सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत रहेको बुँदा नम्बर २ को कार्यान्वयनका रूपमा सुरु गरिएको विभागले जनाएको छ। उक्त कार्यसूचीमा विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्यूआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले आफैं डाउनलोड गर्न सक्ने प्रणाली विकास गर्ने उल्लेख गरिएको थियो।

विभागका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नागरिकले आफ्नो नाम (नेपाली वा अंग्रेजी), जन्ममिति तथा नागरिकता जारी भएको मिति प्रविष्ट गरी परिचयपत्र डाउनलोड गर्न सक्नेछन्।

हालसम्म विभिन्न सार्वजनिक निकाय तथा संस्थाले विभागको प्रणालीबाट प्रिन्ट गरिएको फोटोसहितको राष्ट्रिय परिचय नम्बरको निस्सा हेरेर सेवा प्रदान गर्दै आएका छन्। विभागले अब भने डाउनलोड गरिएको कार्डमा रहेको क्यूआर कोड स्क्यान गरी प्राप्त हुने विवरण र सेवाग्राहीले प्रस्तुत गरेको परिचयपत्रका विवरण रुजु गरेर सेवा प्रवाह गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

विभागले यस सेवाले राष्ट्रिय परिचयपत्रको पहुँच सहज बनाउनुका साथै सेवा प्रवाह प्रक्रियालाई थप छिटो, सुरक्षित र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरेको छ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

    Read more