५ अषाढ, जनकपुरधाम। — नेपाल क्षयरोग निवारण संस्था (नाटा) धनुषा जिल्ला शाखाले जनकपुरधाम उपमहानगरपालिका–११ स्थित अरनिको सेकेन्ड्री बोर्डिङ्ग स्कूलमा जुनियर नाटा इकाइ समितिका पदाधिकारी तथा सदस्यहरूका लागि एकदिने क्षयरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
धनुषा शाखाका सभापति सन्तकुमार कार्कीको अध्यक्षतामा शुक्रबार आयोजित कार्यक्रममा जुनियर नाटा इकाइका २५ जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा जनकपुरधाम–१० स्थित आधारभूत जनस्वास्थ्य केन्द्रकी अधिकृत अर्चना पाठकले क्षयरोगको कारण, लक्षण, निदान तथा उपलब्ध निःशुल्क उपचार सेवाबारे प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति कार्कीले क्षयरोग नेपालमा अझै पनि जनस्वास्थ्यको प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसको नियन्त्रण तथा निवारणका लागि नेपाल क्षयरोग निवारण संस्था निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँले २०१० सालमा स्थापना भएको संस्था सम्भवतः नेपालकै पहिलो गैरसरकारी संस्थामध्ये एक भएको उल्लेख गर्दै देशका ३२ जिल्ला शाखामार्फत उपचारात्मक, प्रतिकारात्मक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो।
धनुषा शाखाले विभिन्न समुदाय र वर्गका नागरिकबीच क्षयरोगसम्बन्धी सचेतना फैलाउने कार्य गर्दै आएको बताउँदै उहाँले क्षयरोगमुक्त समाज निर्माणमा जुनियर नाटाको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गर्नुभयो। प्रशिक्षणबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै समुदायमा सचेतना फैलाउन सहभागी विद्यार्थीहरूलाई उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य एवं धनुषा शाखा सदस्य श्रवणकुमार साह, पूर्व केन्द्रीय सदस्य तथा शाखा सदस्य दिनेश शर्मा, अरनिको विद्यालयका प्रिन्सिपल दीपेन्द्रकुमार झा तथा शिक्षक जितेन्द्र यादवको विशेष उपस्थिति रहेको थियो।
नेपाल क्षयरोग निवारण संस्था धनुषा शाखाले विद्यालयस्तरबाटै क्षयरोगविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जुनियर नाटा गठन तथा अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

















