१० भदौ, काठमाडौं — रसुवा–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट हालसम्म ७२ वटा शव फेला परेका छन्। फेला परेका शवको सनाखत भने हुन बाँकी रहेको छ। बाढीपछि ठूलो संख्यामा सुरक्षाकर्मी, पर्यटक तथा विभिन्न आयोजनामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका छन्।
प्राप्त पछिल्लो विवरणअनुसार ७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। तीमध्ये नेपाल प्रहरीका २६, सशस्त्र प्रहरी बलका ९ र नेपाली सेनाका ४४ जना रहेका छन्।
यसैगरी पर्यटन बोर्डको प्रारम्भिक विवरणअनुसार ३८४ पर्यटक तथा यात्रु सम्पर्कमा आउन बाँकी छन्। तीमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली छन्। उनीहरू बाढीमा बेपत्ता भएको पुष्टि भइसकेको भने छैन। सम्बन्धित निकायले विवरण प्रमाणीकरण गर्ने काम गरिरहेको छ।
लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना तथा नेपाल विद्युत् प्राधिकरणका ३५ जना कर्मचारी पनि सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।
४३१ मेगावाट विद्युत् उत्पादन प्रभावित
बाढीबाट ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। क्षतिका कारण करिब ४३१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।
भौतिक पूर्वाधारतर्फ पनि ठूलो क्षति भएको छ। हालसम्म १९ वटा पुल र करिब ४० किलोमिटर सडक क्षतिग्रस्त भएको विवरण छ। सडक तथा पुलमा क्षति पुगेपछि विभिन्न क्षेत्रमा यातायात अवरुद्ध भएको छ।
रसुवादेखि मलखुसम्म मात्रै २० वटाभन्दा बढी झोलुङ्गे तथा मोटरेबल पुल बाढीले बगाएको बताइएको छ। बाढीले धादिङबेसी जोड्ने पुलसहित अन्य महत्वपूर्ण पुलमा समेत क्षति पुर्याएको छ।
बाढीका कारण आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका कार्यालयसमेत बगेका छन्।
दूरसञ्चार र पूर्वसूचना प्रणालीमा क्षति
बाढीबाट २५ भन्दा बढी दूरसञ्चार साइट प्रभावित भएका छन्। टिमुरे, स्याफ्रुबेँसी तथा नुवाकोट क्षेत्रका नेपाल टेलिकम र एनसेलका टावर तथा साइटमा क्षति पुगेको छ।
अप्टिकल फाइबरमा समेत क्षति पुगेको छ भने चीनसँग जोडिने नेपाल टेलिकमको फाइबर लाइन पनि प्रभावित भएको बताइएको छ।
त्यस्तै रसुवा, धादिङ र नुवाकोटका ६ स्थानमा रहेका बाढी पूर्वसूचना प्रणालीमा क्षति पुगेको छ। यसले आगामी जोखिमको पूर्वसूचना तथा निगरानीमा चुनौती थपिएको छ।
८०० कैदीबन्दी सुरक्षित
नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारको प्रशासनिक भवनमा पनि बाढीबाट क्षति पुगेको छ। नेपाल प्रहरीको सुरक्षा एकाइको भवन, बाहिरी पर्खाल तथा केही सवारीसाधनमा क्षति पुगे पनि कारागारमा रहेका सबै ८०० कैदीबन्दी सुरक्षित रहेको जनाइएको छ।
थप बाढीको जोखिम कायमै
यसैबीच लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको बताइएको छ। चीनबाट प्राप्त सूचनालाई उद्धृत गर्दै गोरखापत्रले उक्त तालको अवस्था अझै जोखिमपूर्ण रहेको जनाएको छ।
ताल पूर्ण रूपमा नखुलेसम्म भोटेकोशी–त्रिशूली क्षेत्रमा थप बाढीको जोखिम कायमै रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
सरकारद्वारा खोज तथा उद्धारलाई उच्च प्राथमिकता
प्रधानमन्त्री बालेन्द्र साहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेर बाढीपछिको अवस्थाबारे समीक्षा गरिएको छ।
सरकारले खोजी, उद्धार, राहत, स्वास्थ्य उपचार तथा सुरक्षा व्यवस्थापनका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरेको परराष्ट्रमन्त्रीले संसद्लाई जानकारी गराएका छन्।
बेपत्ता नागरिक तथा सुरक्षाकर्मीको खोजीलाई उच्च प्राथमिकतामा राखिएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप तीव्र बनाइएको सरकारी अधिकारीहरूले बताएका छन्।
६ जिल्ला विपद् संकटग्रस्त घोषणा
बाढीबाट भएको व्यापक क्षतिलाई ध्यानमा राख्दै सरकारले ६ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। संकटग्रस्त क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन विशेष व्यवस्था मिलाइएको छ।
उद्धार कार्यमा आवश्यकताअनुसार बिनाअनुमति ड्रोन प्रयोग गर्न सकिने व्यवस्था समेत गरिएको छ।
बाढीले एकैपटक मानवीय जनधनसँगै ऊर्जा, सडक, पुल, सञ्चार, बैंकिङ तथा सरकारी संरचनामा ठूलो क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत र पुनःस्थापनाको कामलाई तीव्रता दिनुपर्ने अवस्था देखिएको छ।

















