रसुवा बाढी : उद्धार, उपचार र पुनःस्थापनामा सरकार केन्द्रित — प्रधानमन्त्री साह

१० भदौ, काठमाडौ।  प्रधानमन्त्री बालेन्द्र साहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

बाढीबाट ५० भन्दा बढी नागरिकको मृत्यु भएको जानकारी प्राप्त भएको भन्दै प्रधानमन्त्री साहले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस कठिन घडीमा राज्य प्रभावित नागरिकको साथमा रहेको बताएका छन्।

प्रधानमन्त्री साहका अनुसार बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक तथा मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोज तथा राहतलाई तीव्र बनाउने निर्णय गरिएको छ।

उद्धार तथा खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको उनले जानकारी दिए। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र घाइतेहरूलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको प्रधानमन्त्रीको भनाइ छ।

घाइतेहरूको निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको उनले बताए। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत आकस्मिक उपचारका लागि तयारी अवस्थामा राखिएको छ।

सरकारले प्रभावित क्षेत्रमा मेडिकल टिम परिचालन गरेको तथा राष्ट्रिय ट्रमा सेन्टरसहित विभिन्न सुरक्षा निकायका चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाइएको प्रधानमन्त्रीले बताए। नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत निकायबाट समेत चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको उनले जानकारी दिए।

आपत्कालीन स्वास्थ्य सेवा, औषधि तथा रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटसँग समन्वय भइरहेको प्रधानमन्त्री साहले बताएका छन्।

उनका अनुसार बाढी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग समेत समन्वय गरी स्थानीय तहमा आवश्यक सहयोग पुर्‍याउने काम भइरहेको छ। बेपत्ता नागरिकको खोजीलाई अझ तीव्र बनाउने र घाइते तथा क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहने उनले बताए।

प्रधानमन्त्री साहले नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएको बताएका छन्।

यी क्षेत्रमा पीडित परिवारसम्म तत्काल खानेकुरा, स्वच्छ खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था पुर्‍याइने उनले बताए। बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिइने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री साहले आज रातभर पनि उद्धार कार्य जारी रहने बताएका छन्। प्रभावित नागरिकलाई धैर्य गर्न आग्रह गर्दै उनले उद्धार, उपचार, खानपिन र बसोबासको जिम्मेवारी सरकारले लिने प्रतिबद्धता जनाएका छन्।

साथै उनले सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारी राहत तथा उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आह्वान गरेका छन्।

“यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ,” प्रधानमन्त्री साहले भनेका छन्।

उनले बाढीबाट प्रभावित नागरिकलाई पुनः सामान्य जीवनमा फर्काउन सरकार निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more