११ भदौ,काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति ११ः०५ बजेसम्म देशका विभिन्न जिल्लाबाट १ सय ५७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै ६४ जनाको शव फेला परेको छ। त्यस्तै धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव फेला परेको छ।
बाढीका कारण प्रभावित तथा जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। साथै विभिन्न सुरक्षा निकाय, स्थानीय तह तथा स्थानीयवासीको समन्वय र सहयोगमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ।
बाढीका कारण अवरुद्ध भएका विभिन्न स्थानका सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ।

















