म्याद नाघेका खाद्य सामग्री बिक्री गरेको आरोपमा हंसराज मिष्ठान्न भण्डार कारबाहीमा

२० असार , जनकपुरधाम। जनकपुरधामस्थित हंसराज मिष्ठान्न भण्डारमा अखाद्य तथा म्याद नाघेका खाद्य सामग्री फेला परेपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
मधेश प्रदेशका गृहमन्त्री फकिरा महतोको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायको संयुक्त अनुगमन टोलीले बजार अनुगमनका क्रममा उक्त मिठाई पसलमा खाद्य स्वच्छता मापदण्डविपरीत खाद्य सामग्री भण्डारण तथा प्रयोग गरिएको फेला पारेको हो।
अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने गरी अखाद्य तथा म्याद नाघेका सामग्री राखिएको र आवश्यक स्वच्छता तथा गुणस्तरका मापदण्ड पालना नगरेको पाइएपछि प्रचलित उपभोक्ता संरक्षणसम्बन्धी कानुनअनुसार पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ।
अनुगमन टोलीले व्यवसायीलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य सामग्री मात्र बिक्री–वितरण गर्न, म्याद नाघेका वस्तु तत्काल हटाउन, सरसफाइमा विशेष ध्यान दिन तथा कानुनी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।
साथै, उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने व्यवसायमाथि आगामी दिनमा पनि नियमित अनुगमन जारी राखी आवश्यक कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more