२० असार , काठमाडौ । — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पारशमणि गेलालले मेयरलाई कर्मचारीसरह ‘सरुवा’ गर्नुपर्ने आशयको अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि उनी विवादमा परेका छन्।
सार्वजनिक भिडियोमा गेलालले एक व्यक्तिसँग कुराकानी गर्दै, “अधिकृत भनेको कर्मचारी हुन्, ती सुध्रिन सक्छन्। अब मेयरै सरुवा गर्नुपर्छ। मेयर सरुवा गर्ने तयारी गर्नुस्, मैले भन्या छु,” भनेको सुनिन्छ।
उक्त भिडियो उदयपुर–२ का सांसद सूर्य तामाङले सार्वजनिक गरेका हुन्। त्यसपछि सामाजिक सञ्जालमा सांसद गेलालको अभिव्यक्तिको व्यापक चर्चा भइरहेको छ।
नेपालको संविधानको धारा २१५ तथा स्थानीय तह सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका अध्यक्ष र नगरप्रमुख (मेयर) जननिर्वाचित पदाधिकारी हुन्। उनीहरूको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। कानुनअनुसार उनीहरूलाई कर्मचारीसरह सरुवा गर्ने व्यवस्था छैन। पदबाट हटाउने प्रक्रिया भने राजीनामा, कानुनी कारबाही वा अदालतबाट हुने निर्णयलगायत संवैधानिक व्यवस्थाअनुसार मात्र सम्भव हुन्छ।
गेलालको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा कानुनी ज्ञान र संवैधानिक व्यवस्थाबारे प्रश्न उठाइएको छ। राजनीतिक वृत्तमा पनि जननिर्वाचित पदाधिकारीबारे सांसदबाट यस्तो टिप्पणी आउनु उपयुक्त हो वा होइन भन्ने बहस सुरु भएको छ।
पारशमणि गेलाल उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनी चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेसँग सम्बन्धित छन् भने उनको स्थायी ठेगाना सुनसरीको इनरुवा नगरपालिका–६ हो।
यस विषयमा रास्वपाले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
मेयरलाई ‘सरुवा’ गर्ने अभिव्यक्ति दिएपछि रास्वपा सांसद गेलाल विवादमा
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो
- 21 views


















