३२ असार , काठमाडौ ।— नेपाल सरकारको मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मिटरब्याजबाट प्रभावित नागरिकको माग सम्बोधनदेखि नयाँ डिजाइनका सिक्का टकमारीसम्मका सात महत्त्वपूर्ण निर्णय गरेको छ।
बैठकले मिटरब्याज पीडितसँग वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ, गृह, भूमि व्यवस्था तथा सङ्घीय मामिला मन्त्रालयका सहसचिवहरू सदस्य रहने वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
यस्तै, नेपाल राष्ट्र बैंकलाई रु. १ र २ दरका नयाँ डिजाइनका सिक्का टकमारी गर्न स्वीकृति दिइएको छ।
मन्त्रिपरिषद्ले नेपाल कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, संरक्षित क्षेत्रभित्र राष्ट्रिय वन क्षेत्रमा रूख तथा पोल हटाउन स्वीकृति लिइसकेका आयोजनामा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयले नै थप रूख वा पोल हटाउने स्वीकृति दिन सक्ने व्यवस्था गरिएको छ।
बैठकले विभिन्न मन्त्रालयहरूको सङ्गठन संरचना र दरबन्दी स्वीकृत, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०८३ पारित तथा सेवा करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी व्यवस्था पनि स्वीकृत गरेको छ।



















