१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म ७ हजार ५१४ जनाको उद्धार गरिएको छ। बाढीमा परी विभिन्न आठ जिल्लामा ६७५ वटा शव फेला परेको सरकारले जनाएको छ।
प्रधानमन्त्री बालेन साहले बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, उपचार, राहत तथा पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन्।
सरकारका अनुसार प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका बाबजुद हवाई तथा स्थलमार्गबाट ७ हजार ५१४ जनालाई सुरक्षित स्थानमा पुर्याइएको छ। विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जनाको उद्धार भइसकेको छ भने बाँकीको खोजी तथा उद्धार कार्य जारी छ।
उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टरले २३६ उडान गरिसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार कार्यमा भारतीय तथा चिनियाँ विज्ञसमेत नेपाली सेनासँग समन्वय गरी खटिएका छन्।
घाइतेको उपचार र मनोपरामर्श
गम्भीर घाइतेहरूलाई काठमाडौंका विभिन्न अस्पतालमा ल्याएर उपचार भइरहेको छ। रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल सञ्चालन गरी विशेषज्ञ चिकित्सकसहितको टोलीले उपचार गरिरहेको सरकारले जनाएको छ।
धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल तथा हेलिकप्टरबाट सेवा दिइने दुई स्थान गरी पाँच ठाउँबाट स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। घाइते तथा उनीहरूका परिवारका सदस्यलाई मनोपरामर्शसमेत दिइँदैछ।
३ हजार ५०० विस्थापितलाई अस्थायी आवास
बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनालाई विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवामा तीन र नुवाकोटमा १५ वटा शिविर स्थापना गरी राहत वितरण भइरहेको छ।
प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ।
राहत कोषमा ५ अर्बभन्दा बढी जम्मा
सरकारका अनुसार प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर प्राप्त भएको छ।
सरकारले आर्थिक सहयोग गर्दा आधिकारिक ‘क्यूआर कोड’ तथा प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषका खातामा मात्र रकम जम्मा गर्न आग्रह गरेको छ।
भारतसहित विभिन्न मुलुकबाट सहयोग
प्रभावितको व्यवस्थापन तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग जुट्न थालेको सरकारले जनाएको छ। एडीबीबाट पाँच मिलियन अमेरिकी डलर अनुदान तथा एक लाख ५० हजार डलर प्राविधिक सहयोग, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकाबाट पाँच लाख र अष्ट्रेलियाबाट एक मिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता आएको छ।
भारतबाट तीन चरणमा हालसम्म ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीन र अमेरिकाबाट पनि थप सहायता आउने क्रममा रहेको सरकारले जनाएको छ। चीनसँग ३० वटा बेलीब्रिजका लागि सहयोग मागिएको छ।
शव व्यवस्थापनका लागि भारत र चीनबाट २–२ हजार एयरटाइट ब्याग प्राप्त भएका छन्।
६७५ शव फेला, पहिचान नभएका शवको व्यवस्थापन गरिँदै
रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानबाट हालसम्म ६७५ शव फेला परेको सरकारले जनाएको छ।
फेला परेका शवलाई एयरटाइट ब्यागमा राखेर व्यवस्थापन भइरहेको छ। पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार पहिचान गर्न नसकिने शवको डीएनए लगायत पहिचान खुलाउन सहयोग गर्ने आधार सुरक्षित राखेर व्यवस्थापन गरिने सरकारले स्पष्ट पारेको छ।
परिवारले पहिचान गरेका शव भने आफन्तलाई बुझाउने कार्य भइरहेको छ। सरकारले शव व्यवस्थापनबारे कुनै भ्रममा नपर्नसमेत आग्रह गरेको छ।
रसुवा पुनः सडक सञ्जालमा जोडियो
बाढीले मुख्य सडकमा क्षति पुर्याएपछि वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। काठमाडौं–टोखा–छहरे–गड्खार पुल हुँदै कालिकास्थान–धुन्चे जोड्ने सडकखण्ड साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन हुने गरी मर्मत गरिएपछि रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको सरकारले जनाएको छ।
यस्तै, गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो हटाएर पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ। वैकल्पिक सडक सञ्चालनमा आएपछि धादिङबेँसी पनि पुनः सडक सञ्जालसँग जोडिएको छ।
सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा
बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बीटीएस टावरको सेवा अवरुद्ध भएको थियो। सरकारले इन्धन, सोलार प्यानल र जेनेरेटर पुर्याएर सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ।
हालसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा आइसकेका छन्। बाँकी टावर मर्मत गरी चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
प्रधानमन्त्री बालेन साहले विपद्को समयमा नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवी संस्था तथा सहयोगी निकायले देखाएको तत्परताप्रति आभार व्यक्त गर्दै उद्धार तथा पुनःस्थापनाको काम नतिजा नआएसम्म निरन्तर जारी रहने बताएका छन्।

















