१४ भदौ,जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभावका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको स्थानीय तथा अभिभावकहरूले गुनासो गरेका छन्।
जनकपुरधामस्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा वैशाखदेखि माध्यमिक तहमा विज्ञान विषयको नियमित पठनपाठन हुन नसकेको अभिभावकको गुनासो छ। विद्यालयमा कार्यरत पुरुष शिक्षकलाई अन्य विद्यालयमा सरुवा गरी महिला शिक्षक ल्याएर विद्यालयलाई पूर्णरूपमा कन्या विद्यालयका रूपमा सञ्चालन गर्ने प्रक्रिया अघि बढाइए पनि विषयगत शिक्षक व्यवस्थापनमा ध्यान नदिँदा विद्यार्थीको पढाइ प्रभावित भएको अभिभावकको भनाइ छ।
अभिभावकका अनुसार शैक्षिक सत्र सुरु भएको लामो समय बितिसक्दा पनि विज्ञान विषयको नियमित कक्षा सञ्चालन हुन सकेको छैन। यसले पाठ्यक्रम समयमै पूरा नहुने र आगामी परीक्षामा विद्यार्थीलाई प्रत्यक्ष असर पर्न सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
त्यस्तै, कण्टिर माध्यमिक विद्यालय, बभनगामामा पनि सामाजिक विषय पढाउने शिक्षक नहुँदा उक्त विषयको पठनपाठन प्रभावित भएको स्थानीयको गुनासो छ। शिक्षक अभावका कारण विद्यार्थीले नियमित रूपमा सामाजिक विषयको कक्षा लिन नपाएको स्थानीयको भनाइ छ।
जनकपुरधामका अन्य केही सामुदायिक विद्यालयमा समेत विषयगत शिक्षकको अभाव रहेको र त्यसका कारण सबै विषयको नियमित तथा प्रभावकारी कक्षा सञ्चालन हुन नसकेको स्थानीय तथा अभिभावकहरूले बताएका छन्।
स्थानीयहरूका अनुसार विद्यालयमा शिक्षकको संख्या मात्रै पूरा गरेर समस्या समाधान हुँदैन। कुन विषयका लागि कति शिक्षक आवश्यक छन् भन्ने विषयगत आवश्यकता पहिचान गरी शिक्षक व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ।
‘विद्यालयमा विद्यार्थी छन्, कक्षा पनि छ, तर पढाउने विषयगत शिक्षक छैनन्। यस्तो अवस्थामा पाठ्यक्रम कसरी पूरा हुन्छ र विद्यार्थीले गुणस्तरीय शिक्षा कसरी पाउँछन्?’ स्थानीयको प्रश्न छ।
शिक्षक सरुवा तथा पदस्थापन गर्दा विद्यार्थीको शैक्षिक आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने अभिभावकहरूको भनाइ छ। उनीहरूले जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो मातहतका विद्यालयमा विषयगत शिक्षकको वास्तविक अवस्था अध्ययन गरी तत्काल आवश्यक शिक्षक व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्।
शैक्षिक सत्रको महत्वपूर्ण समय बितिसक्दा समेत विषयगत शिक्षकको अभाव कायमै रहनु विद्यार्थीको भविष्यप्रति गम्भीर विषय भएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।


















