भदौ २५, काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हालै सामाजिक सञ्जालमार्फत देशको संवेदनशील अवस्थाबारे आफ्ना विचार सार्वजनिक गरेका छन्। उनले ‘Gen Z’ ले अघि सारेको आन्दोलनलाई ऐतिहासिक भन्दै यसको उपलब्धि संरक्षण गर्न सबैलाई आग्रह गरेका छन्।
साहले लेखेका छन्, “प्रिय Gen Z तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह, अहिले देश इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। कृपया नआत्तिनुहोस्, धैर्य राख्नुहोस्।”
उनका अनुसार देश अब अन्तरिम सरकारतर्फ जाँदैछ, जसको प्रमुख जिम्मेवारी निष्पक्ष चुनाव गराउनु र नयाँ जनादेश ल्याउनु हुनेछ। यस सन्दर्भमा उनले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वका लागि ‘Gen Z’ ले दिएको प्रस्तावप्रति पूर्ण समर्थन जनाएका छन्।
साहले लेखेका छन्, “तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु। यसले तपाईंहरूको परिपक्वता प्रस्ट्याउँछ।” साथै, उनले तत्काल नेतृत्वमा आउन हतार गर्ने युवाहरुलाई चुनावमार्फत दीर्घकालीन नेतृत्व लिन सकिने भन्दै संयमित हुन अपिल गरेका छन्।
राष्ट्रपतिलाई सम्बोधन गर्दै उनले भनेका छन्, “Gen Z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्नुहोस्।”















