७ अषाढ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहप्रति आफ्नो पूर्ण विश्वास रहेको जनाउँदै सरकार सञ्चालनको जिम्मेवारी सफल बनाउन पार्टी एकजुट भएर लाग्ने बताएका छन्।
चितवनमा सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले चुनावअघि नै सरकार सञ्चालनबारे स्पष्ट समझदारी बनेको उल्लेख गर्दै प्रधानमन्त्री बालेन शाहलाई नेतृत्वको अवसर दिइसकिएको र अब परिणाम दिने जिम्मेवारी उनकै काँधमा रहेको बताए।
“सरकार सञ्चालन गर्नका निम्ति रास्वपाले चुनावअघि नै बालेन शाहको खुट्टामा बल पुर्याएको छ,” उनले भने, “अब भटाभट गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेन शाहको हो। झुक्किएर बल आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो।”
लामिछानेको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री बालेन शाह खुलेर हाँसेका थिए भने कार्यक्रममा उपस्थित प्रतिनिधि तथा कार्यकर्ताले ताली बजाउँदै स्वागत गरेका थिए।
उनले आलोचना र अफवाह फैलाउने प्रवृत्तिप्रति संकेत गर्दै आफू त्यसको प्रतिवादमा समय खर्चिन नचाहेको बताए। वर्तमान पुस्तासँगै भावी पुस्ताप्रति पनि आफूहरू जवाफदेही रहेको उल्लेख गर्दै उनले अवसरलाई परिणाममा बदल्नुपर्ने आवश्यकता औँल्याए।
“आज जन्मेकाहरूले मात्र होइन, भोलि जन्मने पुस्ताले पनि मलाई र बालेनलाई प्रश्न गर्नेछन्। हामीले पाएको अवसर किन गुमायौँ भनेर सोध्नेछन्,” लामिछानेले भने, “हामी त्यो प्रश्नको जवाफ दिन सक्ने इतिहास बनाउन चाहन्छौँ।”
उनले रास्वपाले प्राप्त गरेको जनादेशलाई परिवर्तन, सुशासन र विकासमा रूपान्तरण गर्न पार्टीभित्रको एकता, सहकार्य र स्पष्ट नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे।
चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन, संगठन विस्तार तथा पार्टीको भावी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ। लामिछानेको अभिव्यक्तिलाई प्रधानमन्त्री बालेन शाहप्रतिको विश्वास, सहकार्य र नेतृत्वबीचको समन्वयको सशक्त सन्देशका रूपमा हेरिएको छ।


















