चितवनमा आजदेखि रास्वपाको प्रथम महाधिवेशन, रवि–बालेनले संयुक्त उद्घाटन गर्ने

७ अषाढ, चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुप्रतीक्षित प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएपछि राजनीतिक वृत्तमा यसको विशेष चर्चा भइरहेको छ।
भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजना हुने महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको रास्वपाले जनाएको छ। देशभर तथा विदेशबाट आएका करिब चार हजार प्रतिनिधिको सहभागिता रहने महाधिवेशनलाई पार्टीको भावी दिशा तय गर्ने ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।
महाधिवेशनमा १५१ सदस्यीय केन्द्रीय समिति गठन, पदाधिकारीमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने व्यवस्था, संगठन विस्तार, विधान संशोधन तथा आगामी राजनीतिक रणनीतिबारे महत्वपूर्ण निर्णय गरिने बताइएको छ। साथै सभापतिलाई ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार दिने प्रस्तावले पनि महाधिवेशनअघि नै व्यापक बहस सिर्जना गरेको छ।
पार्टीले हाल पाँच लाख सदस्य पुगेको दाबी गर्दै आएको छ। यही महाधिवेशनमार्फत संगठनलाई टोल–टोलसम्म विस्तार गर्ने तथा आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ रणनीति तय गर्ने तयारी गरिएको जनाइएको छ।
रवि लामिछाने र बालेन शाह एउटै मञ्चमा देखिने, हजारौं प्रतिनिधिको सहभागिता रहने तथा नेतृत्वदेखि संगठनात्मक संरचना र राजनीतिक रणनीतिसम्मका निर्णायक निर्णय हुने भएकाले रास्वपाको पहिलो महाधिवेशनलाई नेपाली राजनीतिमा नयाँ तरंग ल्याउने घटनाका रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more