चितवनबाटै बालेनको जवाफ: ‘कालापानी–लिपुलेक हाम्रो हो, प्रमाण खोज्न जहाँसम्म पनि जान्छु’

७ अषाढ, चितवन । प्रधानमन्त्री बालेन शाहले संसद्मा विपक्षी दलहरूले उठाएका प्रश्नहरूको जवाफ चितवनबाटै दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सीमा विवाद, राष्ट्रियता र सुशासनका विषयमा आफ्नो धारणा स्पष्ट पारेका हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले कालापानी–लिपुलेक नेपालको भूभाग भएको प्रमाण पर्याप्त रहेको उल्लेख गर्दै आफ्नो राष्ट्रियतामाथि शंका नगर्न आग्रह गरे। आवश्यक परे प्रमाण खोज्न र प्रस्तुत गर्न जहाँसम्म पनि जान तयार रहेको उनको भनाइ थियो।
“कालापानी र लिपुलेक हाम्रो हो भन्ने प्रमाण छ। त्यसैले मेरो राष्ट्रियताबारे कसैले शंका गर्न आवश्यक छैन,” उनले भने, “देशको सार्वभौमिकता र राष्ट्रिय हितका विषयमा म कुनै सम्झौता गर्दिनँ।”
प्रधानमन्त्री शाहले आफू र आफ्नो नेतृत्वको सरकारले कानुन र विधिको सीमाभित्र रहेर काम गरिरहेको दाबी पनि गरे। विगतका निर्णय र गतिविधिबारे प्रश्न उठाउनेहरूलाई लक्षित गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि छलफल गर्न तयार रहेको बताए।
“विगतका फट्याइँ खोज्नुपर्छ भने म अख्तियारसँग पाँच घण्टा होइन, पाँच वर्ष नै बस्न तयार छु,” उनले भने, “हामी नियम र कानुनभन्दा बाहिर गएर काम गर्ने पक्षमा छैनौँ।”
उनको भनाइलाई संसद्मा उठाइएका आरोप तथा प्रश्नहरूको प्रत्यक्ष जवाफका रूपमा हेरिएको छ। रास्वपाको महाधिवेशनको मञ्चबाट प्रधानमन्त्री शाहले राष्ट्रियता, पारदर्शिता र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएका हुन्।
चितवनमा जारी रास्वपाको महाधिवेशनमा देशभरबाट आएका हजारौँ प्रतिनिधिको सहभागिता रहेको छ। महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठन विस्तार तथा राजनीतिक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more