बाढीले टनेलमा लेदो भरिएपछि उद्धारमा कठिनाइ : प्रधानमन्त्री शाह

१७ भदौ, काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको तत्काल उद्धार गर्न नसकिएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीसँगै ठूलो मात्रामा हिलो, माटो र लेदो सुरुङभित्र पसेर टनेल पूर्णरूपमा अवरुद्ध भएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको स्पष्ट पारे।
उनले नेपालमा देखिएको अवस्था सामान्य पहिरोले सुरुङ अवरुद्ध भएको अवस्थाभन्दा फरक रहेको बताए। उनका अनुसार अन्य मुलुकमा पहिरोले सुरुङ अवरुद्ध हुँदा पहिरो हटाएर उद्धार गर्ने अभ्यास भए पनि बाढीसँगै सुरुङभित्र ठूलो मात्रामा लेदो भरिएको अवस्थामा तत्काल उद्धार गर्न सक्ने प्रविधि विश्वमै उपलब्ध नभएको अवस्था थियो।
प्रधानमन्त्री शाहले भने, “यहाँ पहिरो खसेको होइन, बाढीसँगै हिलो र माटो पसेर टनेल पूर्णरूपमा थुनिएको छ। यस्तो अवस्थामा तत्काल उद्धार गर्न सकिने प्रविधि अहिलेसम्म विश्वमै उपलब्ध छैन।”
सुरुङ बाहिरसमेत ठूलो मात्रामा हिलो र लेदो जमेकाले उद्धार टोलीलाई आवश्यक उपकरणसहित सुरक्षित रूपमा काम गर्ने स्थान बनाउन कठिन भएको उनले बताए।
उनका अनुसार लेदोमा नेपाली सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत सहज रूपमा उभिन सक्ने अवस्था थिएन। उद्धार टोलीले सुरुङसम्म पुग्न कठिन परिस्थितिमै विभिन्न प्रयास गरेको प्रधानमन्त्री शाहले जानकारी दिए।
“लेदोमा सेना र सशस्त्र प्रहरी पनि अडिन सक्ने अवस्था थिएन। उहाँहरूले सुतेरै पुग्ने प्रयास गर्नुभयो। एक्साभेटर र हेलिकोप्टर राख्न सकिने अवस्था पनि थिएन,” उनले भने।
आवश्यक सुरक्षित स्थान तयार भएपछि मात्रै उद्धार तथा खोजी कार्य अघि बढाउन सकिएको प्रधानमन्त्री शाहको भनाइ छ।
उनले विपद्को अवस्था अत्यन्त जटिल भए पनि सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरी खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको प्रतिनिधिसभालाई जानकारी गराए।

  • सम्बन्धित समाचारहरु

    सिरहामा मन्त्री पोखरेलविरुद्ध नाराबाजी, सम्बोधन बीचमै छाडेर फर्किए

    Read more

    जापानमा हुने एसियाली खेलकुदका लागि नेपालबाट २११ सदस्यीय टोली जाने

    Read more