२८ भदौ, रसुवा। रसुवामा भोटेकोशी नदीमा आएको भीषण बाढीका क्रममा विभिन्न हाइड्रोपावर आयोजनाका टनेलमा फसेका ६ जनाको नेपाली सेनाले जीवित उद्धार गरेको छ।
नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदै टनेलभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेको जनाएको छ।
सैनिक मुख्यालयका अनुसार लाङटाङ हाइड्रोपावरको टनेलमा २५ जनाको टोली परिचालन गरी करिब १५० मिटरभित्र प्रवेश गरेर खोजी कार्य भइरहेको छ। टोलीले टनेलभित्र थप व्यक्ति फसेको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै खोजी गरिरहेको छ।
त्यस्तै, त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा ९३ जनाको टोली परिचालन गरी स्काभेटरको प्रयोगबाट रातभर टनेल तथा आसपास जम्मा भएको लेदो हटाउने काम गरिएको छ।
त्रिशूली–३ ‘बी’ आयोजनामा पनि संयुक्त टोलीले कार्यालय तथा आवास क्षेत्र पहिचान गरी पहुँच मार्ग निर्माणका लागि एक्साभेटर प्रयोग गरिरहेको सेनाले जनाएको छ।
भोटेकोशी बाढीपछि हाइड्रोपावर आयोजनाका सुरुङ तथा संरचनामा ठूलो क्षति पुगेको छ। नेपाली सेनाले जोखिमपूर्ण अवस्थामा समेत उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।


















