२६ असोज , जनकपुरधाम। सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाएर डरत्रास फैलाउने आपत्तिजनक तस्बिर अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१३ धाताटोल निवासी अन्दाजी १८ वर्षीय काले भन्ने सुमन पटेललाई असोज २५ गते साँझ करिब ५:३० बजे आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो।
पटेलले फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै डरत्रास फैलाउने किसिमको आपत्तिजनक तस्बिर अपलोड गरेको पाइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका पटेलमाथि अनुसन्धान भइरहेको र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।




















