जनकपुरधाममा पसल तोडफोडको आरोपमा ध्रुव झा पक्राउ, पुरानो रिसिइबी साधेको कर्णको दाबी

२६ असोज, जनकपुरधाम। जनकपुरधाममा पसल तथा घरका सामग्री तोडफोड गरेको र प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार असोज २३ गते राति करिब ८:२० बजे जनकपुरधाम उपमहानगरपालिका–४ स्थित न्युरो अस्पताल नजिक सुभाष मण्डलले सञ्चालन गरेको पसलमा तोडफोड भइरहेको सूचनापछि प्रहरीले महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० घर भएका करिब ४० वर्षीय ध्रुव झालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार आफूलाई पत्रकार तथा युट्युबर बताउने झाले मादक पदार्थ सेवन गरी पसलको बोर्ड, घरको रेलिङ र गमलाहरू तोडफोड गरेका थिए। पक्राउ गर्ने क्रममा प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

यता, झासँगै काम गर्ने नेपाली कांग्रेसकी प्रिया कर्णले भने प्रहरीले पुरानो रिसिइबीका कारण झालाई पक्राउ गरेको आरोप लगाएकी छन्। उनका अनुसार पसलको बोर्ड मात्रै तोडफोड भएको हो। उनले घटनामा क्षतिपूर्तिभन्दा पनि नियतवश झालाई फसाउन खोजिएको दाबी गरिन्।

कर्णले केही दिनअघि कपिलेश्वरमा भएको प्रियंका दास मृत्यु प्रकरणलाई लिएर धनुषा प्रहरीसँग भएको भनाभनकै कारण झामाथि कारबाही गरिएको आरोपसमेत लगाइन्। प्रहरीले झालाई कुटपिट गरेको, भेटघाट गर्न नदिएको र प्रहरीमाथि हातपात गरेको आरोप पुष्टि गर्न सीसीटीभी फुटेज जाँच गर्नुपर्ने उनको माग छ।

कर्णले घरधनीबाट उजुरी नपरेको अवस्थामा झामाथि मुद्दा चलाइएको दाबी गर्दै निष्पक्ष अनुसन्धानको माग गरेकी छन्।

घटनाबारे प्रहरीले प्रचलित कानुनबमोजिम अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका झामाथि लगाइएका आरोप तथा कर्णले प्रहरीमाथि लगाएका आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more