धनुषा–३ मा चर्कियो चुनावी प्रतिस्पर्धा, मौन अवधि सुरु हुनुअघि उम्मेदवारको अन्तिम दौडधुप

१८ फागुन, जनकपुरधाम।  शिवराम झा—फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा अन्तिम घडीमा चुनावी प्रतिस्पर्धा तीव्र बनेको छ। आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो, भेटघाट र साना–ठूला सभामा सक्रिय देखिएका छन्।
यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा बिमलेन्द्र निधि (नेपाली कांग्रेस), जुली कुमारी (नेपाल कम्युनिष्ट पार्टी (एमाले)), मनिष झा (राष्ट्रिय स्वतन्त्र पार्टी) र परमेश्वर साह (जनता समाजवादी पार्टी नेपाल) बीच हुने आँकलन गरिएको छ।
कांग्रेसका उम्मेदवार निधि पक्षले बलियो संगठन संरचना र पुरानो राजनीतिक आधारका कारण जित आफ्नो पक्षमा रहने दाबी गर्दै आएको छ। निधि लामो समयदेखि राष्ट्रिय राजनीतिमा सक्रिय नेताका रूपमा परिचित छन्।
रास्वपाका उम्मेदवार झा पक्षले भने जनतामा ‘परिवर्तनको चाहना’ प्रबल रहेको दाबी गर्दै मतदाताले नयाँ विकल्प रोज्ने विश्वास व्यक्त गरेको छ। पछिल्लो समय युवामाझ रास्वपाको प्रभाव बढ्दै गएको उनीहरूको दाबी छ।
यता एमालेकी उम्मेदवार जुली कुमारी निवर्तमान सांसद हुन्। पार्टी संगठन सुदृढ रहेको र अघिल्लो कार्यकालका आधारमा मतदाता समर्थन कायम रहने उनीहरूको विश्वास छ। यद्यपि एमालेका केही केन्द्रीय नेताहरूका अभिव्यक्तिलाई लिएर जनस्तरमा असन्तुष्टि देखिएको चर्चा स्थानीय राजनीतिक वृत्तमा छ।
जसपा नेपालका उम्मेदवार परमेश्वर साहले मधेसी समुदायका मुद्दा र अधिकारको पक्षमा आफूले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै मतदाताले आफ्नो भूमिकालाई मूल्यांकन गर्ने विश्वास व्यक्त गरेका छन्।
मौन अवधि सुरु हुनुअघि मतदाताको अन्तिम मनोविज्ञान निर्णायक हुनेछ। यद्यपि धेरै मतदाता अझै खुलिसकेका छैनन्। धनुषा–३ मा हुने कडा प्रतिस्पर्धाले यस पटकको निर्वाचनलाई थप रोचक बनाएको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more