धनुषामा पुनः नवविवाहिता युवतीको शंकास्पद मृत्यु, श्रीमान् पक्राउ

१९ असोज, जनकपुरधाम।  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा एक नवविवाहिता युवतीको शंकास्पद अवस्थामा मृत्यु भएको छ।

स्थानीय विनोद दासकी २० वर्षीया पत्नी प्रियंका दास आइतबार राति आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्। घटनापछि माइती पक्षले प्रियंकाको हत्या भएको आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

मृतकका आफन्तका अनुसार प्रियंका आफ्नै सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। त्यसपछि उनका श्रीमान् विनोदले पासो खोलेर प्रियंकाको शव ओछ्यानमा राखेको आफन्तको भनाइ छ।

तर, जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रियंकाको शव घरभित्रै सुतिरहेको ओछ्यानमा फेला परेको थियो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी कपिलेश्वरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

घटनापछि स्थानीयवासीसमेत घर अगाडि भेला भएर विरोध जनाएका थिए। उनीहरूले प्रियंकाको मृत्यु शंकास्पद रहेको भन्दै हत्या भएको आशंका व्यक्त गर्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनकारीले घटनास्थलमा पत्रकारलाई प्रवेश गरी घटनाबारे जानकारी लिन दिनुपर्ने मागसमेत गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालका अनुसार प्रहरीले घटनास्थलमा पुगेर शवको मुचुल्का उठाउनेलगायत प्रारम्भिक अनुसन्धानको काम गरिरहेको छ। घटनाको प्रारम्भिक सोधपुछका लागि मृतकका श्रीमान् विनोद दासलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको उनले जानकारी दिए।

यता, माइती पक्षले भने प्रियंकाको मृत्यु नभई हत्या भएको दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

प्रहरीको अनुसन्धान तथा पोस्टमार्टम रिपोर्टपछि मात्र प्रियंकाको मृत्युको वास्तविक कारण खुल्नेछ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more