१९ असोज, जनकपुरधाम। जनकपुरधामको मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन एकतर्फी यातायात सञ्चालन तथा एक साइड पार्किङ व्यवस्था लागू गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका अनुसार रामानन्द चोकदेखि जनक चोकसम्म एकतर्फी (वान वे) यातायात सञ्चालन गरिएको छ। सो क्षेत्रमा सडकको एक साइडमा मात्र पार्किङ गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै पिडारी चोकदेखि मिल्सेरिया चोकसम्म पनि एक साइड पार्किङ व्यवस्था लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सवारी चालक, व्यवसायी तथा सर्वसाधारणलाई तोकिएको स्थानमा मात्र सवारी पार्किङ गर्न, एकतर्फी सडकको नियम पालना गर्न तथा ट्राफिक व्यवस्थापनमा सहयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले अनुरोध गरेको छ।
ट्राफिक प्रहरीले सडकमा जथाभावी पार्किङ गर्दा आवागमनमा समस्या तथा सवारी व्यवस्थापनमा कठिनाइ हुने भएकाले तोकिएको पार्किङ क्षेत्रको प्रयोग गर्न आग्रह गरेको छ।




















