२२ माघ , काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गराउने तयारी गरिरहेको चर्चा प्रति गम्भीर आशंका व्यक्त गरेका छन्।
बुधबार साँझ काठमाडौंमा आयोजित झापाली समुदायसँगको निर्वाचन विशेष भेटघाट कार्यक्रममा बोल्दै ओलीले हिमाली भेगमा निर्वाचन हुन नसक्ने बहानामा दुई चरणको बहस अघि सारिएको दाबी गरे। हिउँ पर्ने अवस्था पहिलेदेखि नै थाहा हुँदाहुँदै अहिले मात्रै निर्वाचन सम्भव नहुने तर्क प्रस्तुत गरिनु शंकास्पद रहेको उनको भनाइ थियो।
उनले निर्वाचन प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै मतपेटिका एक सेकेन्डका लागि पनि पार्टी प्रतिनिधि वा उम्मेदवारको आँखाबाट ओझेल पर्न नहुने स्पष्ट पारे। मतदान सम्पन्न भएलगत्तै मतपेटिका पार्टी प्रतिनिधिहरूको रोहबरमा सुरक्षित रूपमा मतगणना स्थलमा पुर्याई त्यहीँ खोलेर गणना गर्नुपर्ने उनले बताए।
“मतपेटिका राखेर छोड, हामीमाथि विश्वास गर भन्ने चल्दैन,” भन्दै ओलीले बल प्रयोग गरेर विश्वास दिलाउने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिए।
एकै दिन निर्वाचन गर्न नसकिने अवस्था भए मिति सारेर भए पनि एकै चरणमा चुनाव गर्नुपर्नेमा उनले जोड दिए। धाँधली गरेर निर्वाचनको नाटक गर्न नदिने एमालेको स्पष्ट अडान रहेको उनको भनाइ थियो।
राज्यले कसैलाई जिताउने र कसैलाई हराउने नियत राखे त्यसले देशमा गम्भीर परिणाम निम्त्याउने ओलीले चेतावनी दिए। उनले आफ्नो भनाइलाई रोदनका रूपमा नलिन आग्रह गर्दै निष्पक्षता कायम नभए प्रतिवाद हुने स्पष्ट पारे।
सरकार र निर्वाचन आयोगले निष्पक्षताको ग्यारेन्टी दिनुपर्ने उल्लेख गर्दै उनले राज्य संयन्त्रबाट बल प्रयोग गरेर निर्वाचन प्रक्रिया अघि बढाउने सोच राखिए त्यसले ठूलो संकट निम्त्याउन सक्ने बताए।

















