जेनजी आन्दोलनका ४२ सहिद परिवारलाई मासिक पेन्सन, अर्थ मन्त्रालयसँग समन्वयमा विवाद

२२ माघ, काठमाडौ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदका परिवारलाई राज्यले मासिक पेन्सन उपलब्ध गराउने निर्णय गरेको छ। सहरी विकास मन्त्रालयले भदौ २३ र २४ गते भएको आन्दोलनमा मृत्यु भएका ४२ सहिदका परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँका दरले पेन्सन दिने व्यवस्था गरेको जनाएको छ।
मन्त्रालयका अनुसार उक्त पेन्सन वर्षमा १३ महिनासम्म, लगातार १० वर्षका लागि उपलब्ध गराइनेछ। यस निर्णयका लागि कुल ११ करोड ९० लाख २८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आवश्यक रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए।
आन्दोलनका क्रममा कुल ७६ जनाको मृत्यु भएको थियो। तीमध्ये जेलबाट भागेका व्यक्तिहरू बाहेकका मृतकलाई सहिद घोषणा गरिएको सरकारको निर्णयमा उल्लेख छ। सहिद घोषित हुनेमध्ये तीन जना प्रहरीसमेत रहेका छन्। हाल प्रहरीबाहेकका ४२ सहिद परिवारलाई मासिक पेन्सन दिने व्यवस्था गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
रेग्मीका अनुसार यस विषयमा अर्थ मन्त्रालयसँग छलफल गरिएको भए पनि औपचारिक स्वीकृति नलिई पुनर्निर्माण कोषबाट रकम निकासा गरिएको हो। सहिद परिवारको जीवनयापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले निर्णय गरिएको उनको भनाइ छ।
यता, अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले भने राहतसम्बन्धी कुनै पनि फाइल अर्थ मन्त्रालयबाट स्वीकृत नभएको स्पष्ट पारेका छन्। यसले निर्णय प्रक्रियामा समन्वय र अधिकार क्षेत्रबारे प्रश्न उठाएको छ।
सरकारी निकायबीच देखिएको मतभेदका बीच सहिद परिवारलाई राहत वितरण प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा थप स्पष्टता आउन बाँकी छ।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more