जनकपुरधाममा खुकुरी प्रहार: दुई जना गम्भीर घाइते

१८ चैत, जनकपुरधाम।  — जनकपुरधामस्थित मुजेलिया बाबा पेट्रोल पम्प परिसरमा गएराति करिब १ बजे भएको खुकुरी प्रहार घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा जनकपुरधाम–कुम्हरौडा निवासी अन्दाजी २७ वर्षीय अजय झा र उनका भिनाजु बक्चौडा निवासी करिब ४० वर्षीय सोनु कुमार झा रहेका छन्। उनीहरू पेट्रोल भर्न गएका बेला नशामा रहेका बाइकरहरूको समूहले अचानक आक्रमण गरेको बताइएको छ।
आक्रमणकारीहरूले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा दुवै जना गम्भीर घाइते भएका हुन्। घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको र हाल जनकपुरधामस्थित काव्या अस्पतालमा रिफर गरी उपचार भइरहेको जनाइएको छ।
घटनामा संलग्नमध्ये एक जनाको (बा. प्रदेश ०२–०५७४–४१४०) नम्बरको KTM मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। मुजेलिया प्रहरी चौकीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।
पीडित पक्षले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न प्रशासनसँग माग गरेको छ। पछिल्लो समय जनकपुरधाममा यस्ता आपराधिक गतिविधि बढ्दै गएको भन्दै स्थानीयले राति हिँडडुल गर्न समेत असुरक्षित भएको गुनासो गरेका छन्।
सुरक्षाको दृष्टिले धनुषा प्रशासनसमक्ष चुनौती थपिएको देखिएको छ। स्थानीयले यस्ता घटनामा संलग्नलाई शीघ्र कानुनी दायरामा ल्याउन र शहरमा सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    अमेरिकाको लुजियाना राज्यमा गोली चलाएर ८ बालबालिकाको हत्या

    Read more

    गृहमन्त्री गुरुङमाथि सम्पत्ति लुकाएको आरोप, पद संकटमा

    Read more