१८ भदौ, जनकपुरधाम । लामो समयदेखि खाली रहेको सार्वजनिक क्षेत्रलाई हरियालीयुक्त बनाउने उद्देश्यले जनकपुरधाममा वृक्षारोपण गरिएको छ ।
वृक्षारोपण कार्यक्रममा सहभागीहरूले तराई क्षेत्रमा बढ्दो तापक्रम, घट्दो हरियाली तथा वातावरणीय असन्तुलन न्यूनीकरणका लागि सार्वजनिक स्थानमा वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा समिति सदस्यसमेत रहेका एनप्याब्सन जनकपुरधाम नगर अध्यक्ष दिपक ठाकुरले लामो समयदेखि खाली रहेको सार्वजनिक क्षेत्रलाई हरियालीयुक्त बनाउने उद्देश्यले वृक्षारोपण गरिएको जानकारी दिए ।
उनका अनुसार वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्नुका साथै स्वच्छ हावा, शीतलता र हरियाली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ । सार्वजनिक स्थललाई व्यवस्थित र हराभरा बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा पनि उनले जोड दिए ।
कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण केवल सरकारी निकायको जिम्मेवारी नभई नागरिक, विद्यालय, सामाजिक संघसंस्था तथा समुदाय सबैको साझा दायित्व भएको बताएका थिए । बढ्दो गर्मी र वातावरणीय प्रदूषणको असर न्यूनीकरण गर्न वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षणमा समेत ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो ।
यसअघि पनि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहको नेतृत्वमा जनकपुरधामस्थित ऐतिहासिक तिरहुतिया गाछीमा ठूलो संख्यामा वृक्षारोपण गरिएको थियो । पछिल्लो समय तिरहुतिया गाछी क्षेत्र थप हरियालीयुक्त बन्दै गएको बताइएको छ ।
जनकपुरधाममा सार्वजनिक तथा खाली क्षेत्रलाई हरियालीयुक्त बनाउने अभियानलाई निरन्तरता दिइएमा बढ्दो तापक्रम नियन्त्रण, वातावरणीय सन्तुलन र शहरको सौन्दर्यीकरणमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।


















