कोलकाताबाट पहिलो रेल कार्गो विराटनगर आइपुग्यो, पूर्वी नेपालका उद्योगीलाई ठूलो राहत

४ साउन , बिराटनगर । — भारतको कोलकाता बन्दरगाहबाट नेपालका लागि पहिलो पटक सञ्चालन गरिएको रेल कार्गो सेवा अन्तर्गत पहिलो रेल आइतबार विराटनगरस्थित नेपाल भन्सार यार्डमा आइपुगेको छ। तेस्रो मुलुकबाट आयात हुने मालसामानको ढुवानीलाई सहज, सुरक्षित र कम लागतमा बनाउने उद्देश्यसहित सुरु गरिएको यो सेवाले पूर्वी नेपालका उद्योगी तथा आयातकर्तालाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
कोलकाताबाट आएको रेलमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० फिटका ४० वटा कन्टेनर रहेका छन्। मर्सक लाइनका ती कन्टेनरमा ढुवानीको सुरक्षा र निगरानीका लागि इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ECTS) समेत जडान गरिएको छ।
यसअघि तेस्रो मुलुकबाट आयात हुने रेल कार्गो सेवा वीरगञ्ज नाकामा मात्र सीमित थियो। अब विराटनगरसम्म सेवा विस्तार भएपछि पूर्वी नेपालका उद्योगीले कम लागतमा छिटो र सुरक्षित ढुवानी सुविधा पाउने भएका छन्। उद्योग संगठन मोरङका अध्यक्ष नन्दु राठीले यसलाई पूर्वी क्षेत्रका उद्योगका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्।
पूर्ण रूपमा सेवा सञ्चालनमा आएपछि एकैपटक ४५ वटासम्म ४० फिटका कन्टेनर रेलमार्फत विराटनगर ल्याउन सकिनेछ। उद्योगी सुयष प्याकुरेलका अनुसार रेलमार्गबाट ढुवानी गर्दा सडकको तुलनामा खर्च कम, सुरक्षा बढी र समयको बचत हुने भएकाले उद्योगीलाई प्रत्यक्ष लाभ पुग्नेछ।
कोलकाताबाट विराटनगरसम्म मालसामान करिब २४ घण्टामै आइपुग्ने भएकाले ढुवानी समय उल्लेखनीय रूपमा घट्नेछ। यसले बन्दरगाहमा लाग्ने विलम्ब शुल्क, कन्टेनर डिटेन्सन चार्ज तथा सडक ढुवानीको अतिरिक्त खर्चसमेत कम हुने अपेक्षा गरिएको छ।
नेपाल–भारत पारवहन सम्झौताअनुसार भारत सरकारले नियमावली संशोधन गरेपछि कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत विराटनगर भन्सारसम्म कार्गो ढुवानी गर्ने बाटो खुलेको हो। नेपाली महावाणिज्यदूतावासको पहलमा कोलकाता भन्सार र भारतीय निकायहरूको समन्वयपछि यो सेवा सञ्चालनमा आएको हो।
रेल कार्गो सेवा विस्तारसँगै पूर्वी नेपालका उद्योगहरूको उत्पादन लागत घट्ने, आपूर्ति प्रणाली थप प्रभावकारी बन्ने र नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता मजबुत हुने विश्वास गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more