विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई मन्त्रालयको निर्देशन

४ साउन, काठमाडौ । — अविरल वर्षा, बाढी, पहिरो लगायतका विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासनतर्फको निकायले जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको छ।

स्थानीय तह समन्वय शाखाले जारी गरेको परिपत्रमा विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिका कर्मचारीलाई नियमित रूपमा कार्यालयमा उपस्थित रहन भनिएको छ।

मन्त्रालयका अनुसार विपद्को अवधिभर कर्मचारीहरूले कार्यालय नछोडी समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेछ। हाल बिदामा रहेका कर्मचारीलाई समेत बिदा छोट्याएर तत्काल सम्बन्धित कार्यालयमा हाजिर भई आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ।

यस्तै, विपद्सम्बन्धी सूचना संकलन, उद्धार तथा राहत कार्य, क्षतिको विवरण संकलन र आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा संघीय निकायसँग निरन्तर सम्पर्क र समन्वय गर्न स्थानीय तहलाई आग्रह गरिएको छ।

विशेष परिस्थितिमा कार्यालय छाड्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायको पूर्वस्वीकृति लिएर जिम्मेवारीको उचित व्यवस्थापन गरेपछि मात्र कार्यालय छाड्न मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ।

मन्त्रालयले विपद्को जोखिम बढिरहेका बेला नागरिकलाई छिटो, प्रभावकारी र निरन्तर सेवा उपलब्ध गराउने, राहत तथा उद्धार कार्यलाई थप व्यवस्थित बनाउने उद्देश्यले यस्तो निर्देशन जारी गरिएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    प्रचण्डद्वारा सुनसरी गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाहीको माग

    Read more

    देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग, संयम अपनाउन आग्रह

    Read more