कमला खोलामा बेपत्ता युवकको शव फेला, सशस्त्र प्रहरीद्वारा उद्धार

२९ चैत, जनकपुरधाम। धनुषाको कमला खोलामा हिजोदेखि बेपत्ता रहेका जनकपुरधामका एक युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका जनकपुरधाम–६ का मोहम्मद आयन कमकको शव आज बिहान कमला खोलामा खोजी अभियानका क्रममा फेला परेको सशस्त्र प्रहरी धनुषाका नायब उपरीक्षक दिनेश शर्माले जानकारी दिएका छन्।
प्रारम्भिक विवरण अनुसार, जनकपुरधामबाट पिकनिकका लागि गएका युवाहरुको समूहसँगै रहेका कमक पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। त्यसपछि सशस्त्र प्रहरी, स्थानीय सुरक्षा निकाय तथा गोताखोर टोली परिचालन गरी खोजी कार्य तीव्र पारिएको थियो।
बेपत्ता भएपछि सुरक्षावेस क्याम्प रघुनाथपुरका सहायक प्रहरी निरीक्षक रघुनाथ ढकालको नेतृत्वमा ७ जनाको टोली तथा चिसापानीबाट प्रहरी वरिष्ठ हवलदार दिपेन्द्र यादवको नेतृत्वमा ३ जनाको टोलीले खोजी सुरु गरेका थिए। प्रारम्भिक खोजीमा सफलता नपाएपछि सशस्त्र प्रहरी मुख्यालय महोत्तरीबाट सप्रसनि दिलीपकुमार हायुको कमाण्डमा गोताखोर टोली परिचालन गरिएको थियो।
शव धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ छोडकीटोलस्थित कमला खोलाबाट फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी गरेको छ।

  • सम्बन्धित समाचारहरु

    अमेरिकाको लुजियाना राज्यमा गोली चलाएर ८ बालबालिकाको हत्या

    Read more

    गृहमन्त्री गुरुङमाथि सम्पत्ति लुकाएको आरोप, पद संकटमा

    Read more