इरानका १७० भन्दा बढी स्थानमा अमेरिकी हमला

२६ असार, काठमाडौं । अमेरिका र इरानबीचको तनाव थप चर्किँदै गएको छ। अमेरिकी सेनाले पछिल्लो दुई दिनमा इरानका १७० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम) का अनुसार आक्रमणको निशानामा एयर डिफेन्स प्रणाली, ड्रोन भण्डारण केन्द्र तथा तटीय सैन्य अखडाहरू परेका छन्।

यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिका होर्मुज स्ट्रेटमा हस्तक्षेप गर्न खोजे कडा जवाफ दिने चेतावनी दिएको छ। आईआरजीसीले बहराइनस्थित अमेरिकी फिफ्थ फ्लीट मुख्यालय, कुवेतको अली अल–सलेम एयर बेससहित ८५ अमेरिकी सैन्य अखडामा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार, अमेरिकी सैन्य कारबाही जारी रहे होर्मुज स्ट्रेटको अवस्था सामान्य हुन नसक्ने र यस जलमार्गमा निर्भर धेरै मुलुकहरूले गम्भीर आर्थिक क्षति बेहोर्नुपर्ने इरानको चेतावनी छ।

यसैबीच, उत्तरी इरानमा चीन र रुससँग जोडिएको रणनीतिक महत्वको रेलमार्ग पुलमा अमेरिकाले क्रुज मिसाइल प्रहार गरेको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो शिखर सम्मेलनका क्रममा इरानसँगको युद्धविराम सम्झौता समाप्त भइसकेको भन्दै अब तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

यद्यपि, अमेरिकी अधिकारीहरूले कूटनीतिक समाधानको सम्भावना जीवित राख्न प्राविधिक तहमा वार्ता जारी रहेको बताएका छन्। कतार र पाकिस्तानले दुवै पक्षबीच मध्यस्थताको प्रयास गरिरहेको जनाइएको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले भने धम्की र सैन्य दबाबको वातावरणमा अमेरिकासँग कुनै वार्ता वा सम्झौता सम्भव नरहेको स्पष्ट पारेका छन्। उनले अमेरिकाले विगतका सम्झौताहरूको सम्मान गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।

तनावकै बीच इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीलाई बिहीबार मशहदस्थित इमाम रजा दरगाहमा अन्त्येष्टि गरिएको बताइएको छ। करिब डेढ करोड मानिस सहभागी भएको भनिएको सातदिने अन्तिम श्रद्धाञ्जली कार्यक्रम युद्धको त्रासबीच सम्पन्न भएको जनाइएको छ।

यसैगरी, बिहीबार इरानको बुशहर आणविक केन्द्र आसपास तथा दक्षिणी क्षेत्रहरूमा विस्फोटका आवाज सुनिए पनि अमेरिकी अधिकारीहरूले ती नयाँ विस्फोटमा आफ्नो संलग्नता नरहेको बताएका छन्।

अमेरिकी सेनाले होर्मुज स्ट्रेटमा इरानको मात्र नियन्त्रण नरहेको दाबी गर्दै हालसम्म ८०० भन्दा बढी व्यापारिक जहाजलाई सुरक्षित रूपमा उक्त जलमार्ग पार गराइएको जनाएको छ।

यस घटनाप्रति कतार र संयुक्त अरब इमिरेट्स (यूएई) ले कुवेत र बहराइनमा इरानले गरेको मिसाइल आक्रमणको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन्। उता, जोर्डनले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानी मिसाइलहरू खसालेको दाबी गरेको छ।

(एजेन्सीहरूको सहयोगमा)

  • सम्बन्धित समाचारहरु

    प्रचण्डद्वारा सुनसरी गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाहीको माग

    Read more

    देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग, संयम अपनाउन आग्रह

    Read more