२६ चैत , हाङपाङ, ताप्लेजुङ। – आठराई त्रिवेणी गाउँपालिकाले कार्यालय समय सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै पुरानो तालिकाअनुसार कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। नेपाल सरकारले संवत् २०८२ साल चैत २३ गतेदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको भए तापनि, गाउँपालिकाले कर्मचारीहरूको बसोबास र भौगोलिक विकटतालाई ध्यानमा राख्दै सेवाग्राहीका लागि कार्यालय समय पुरानै अनुसार कायम राख्ने निर्णय गरेको हो।
सूचनामा उल्लेख भएअनुसार, गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालयहरू आइतबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछन्। वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० बजे रहनेछ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजे कायम हुनेछ। साथै, प्रत्येक शुक्रबार कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म मात्र रहने व्यवस्था गरिएको छ।
गाउँपालिकाले यो निर्णय स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ अनुसार गाउँपालिका बैठकबाट पारित गरी सर्वसाधारणलाई जानकारीका लागि सार्वजनिक गरेको जनाएको छ। संघीय सरकारले सातामा दुई दिन बिदा दिने व्यवस्था गरे तापनि, आठराई त्रिवेणी गाउँपालिकामा सेवाग्राहीको सहजता सुनिश्चित गर्न पुरानो तालिकाअनुसार कार्यालय सञ्चालन हुने एक सूचना जारी गर्दै जनाएको छ।




















